हेटौंडा,मनोसामाजिक समस्या भएकाहरुका लागि सम्मानजनक भाषा र मताधिकारको सुरक्षा गर्न माग गरिएको छ । कोशिष नेपाल संस्थाको सहजीकरणमा मनोसामाजिक समस्या सञ्जालले मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलामार्फत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । नेपालको संविधानको प्रस्तावनाको चौथो हरफमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएपनि यस अनुरुप नभएको भन्दै ध्यानाकर्षण गराएको हो ।
नेपालका निर्वाचन सम्बन्धी बनेका विभिन्न कानून, निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक समस्या भएकाहरुले प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित हुन वा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था नरहेको बताइएको छ । अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिन पाउने अधिकारको सुनिश्चिताको माग गरिएको छ । निर्वाचन सम्बन्धी ऐनहरुमा प्रचलित नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य हुन्छन् भनी किटान गरिएको व्यवस्था प्रति ध्यानाकर्षण गराइएको हो । विभेदकारी व्यवस्थाका कारण मानसिक स्वास्थ्य अवस्था वा मनोसामाजिक समस्या भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६, अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले प्रत्यायोजन गरेको नागरिक तथा नागरिक अधिकारको उपभोग गर्नबाट वञ्चित रहने मनोसामाजिक समस्या सञ्जाल सदस्य सानुकान्छी थिङले बताइन् ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको विरुद्ध कायम रहेका विभेदकारी निर्वाचन सम्बन्धी कानूनी व्यवस्थालाई खारेजी वा संशोधन गरी नागरिक अधिकार हनन् हुन नदिन माग गरिएको कोशिष संस्थाका सुनिरा लामाले जानकारी दिइन् ।







