हेटौंडा, बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै मजदुरहरुले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरुको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्नुभएको छ ।

प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताउनु भएको छ । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरु अधिकारविहीन, शोषित एवं उत्पीडित रहेको भन्दै गर्दै उहाँले आजभन्दा १३४ वर्ष अघि आजैका दिन अर्थात् मे १ तारिखमा विश्वभरका मजदुरहरुले अनवरत संघर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गर्नुभएको छ । हाम्रो देशमा पनि २००७ साल यता यो दिवस मनाउन थालिएको उल्लेख गर्दै प्रमुख शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर संघर्षमा नेपालका श्रमिक वर्गको अविस्मणीय योगदान रहेको बताउनुभएको छ । ‘हामी ति अमूल्य योगदानको कदर तथा अविचलित संघर्षप्रति गौरव गर्दछौं ।’ प्रमुखले भन्नुभएको छ,‘अझै पनि समय, ठाउँ र श्रमको समुचित परिभाषा नभएको, कानुनी प्रावधान बमोजिम सेवा-सुविधा नपुगेको र सामाजिक सुरक्षाको उचित व्यवस्था हुन नसकेको गुनासाहरू सुनिने गरेको छ ।’ यसका लागि राज्यले समुचित प्रबन्ध गरी गुनासाहरुको सम्बोधन गर्नु अत्यावश्यक भएको प्रमुख शर्माको भनाई छ ।







