हेटौँडा, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै हेटौँडाको नाम राष्ट्रियस्तरमा चिनाएका युवा क्रिकेटर रिजन ढकाललाई गृह नगरमा सम्मान गरिएको छ। प्रतियोगितामा १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता बनेका रिजनलाई हेटौँडाका स्थानीय तह, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले नगद पुरस्कार, सम्मानपत्रले सम्मान गरेका हुन्।
एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोजबाट खेलेका रिजनले उत्कृष्ट बलिङ गर्दै प्रतियोगितामा आफ्नो प्रभाव जमाएका थिए। उनको प्रदर्शनको कदरस्वरूप उनी उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा एन्ड जेइकु कार प्राप्त गरेका थिए भने उत्कृष्ट बलर बनेपछि पल्सर मोटरसाइकलसमेत जितेका थिए। सफलतापछि हिजो गृह नगर फर्कँदा उनको हेटौँडामा भव्य स्वागत गरिएको थियो।
आज हेटौँडा उपमहानगरपालिकाले रिजनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। नगर प्रमुख मीनाकुमारी लामाले रिजनको सफलताले हेटौँडाको गौरव बढाएको बताउँदै खेलकुद क्षेत्रमा युवाको मेहनत र प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरिन्। कार्यक्रममा उपप्रमुख राजेश बानियाँसहित विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति थियो। त्यसैगरी, हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेजले पनि एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख पुरनबहादुर जोशीले उनलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए।
रिजनले अध्ययन गरेको हेटौँडा–२ स्थित बालजागृति माध्यमिक विद्यालयले २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरेको छ। उनले २०७० सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। विद्यालयका प्रधानाध्यापक विनोद सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीले उनलाई सम्मान गरेका थिए। रिजनको क्रिकेट यात्रा सुरु भएको ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले पनि पूर्वविद्यार्थीको सफलताको कदर गर्दै सम्मान गरेको छ।
यसैगरी, सहकारीका सल्लाहकार राजु ढकालका छोरा तथा संस्थाका सदस्यसमेत रहेका रिजनलाई हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सम्मानपत्र प्रदान गरेको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय तथा डीडीसी आउटलेटले पनि रिजनलाई सम्मान गरेका छन्।







