हेटौँडा, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, निःशुल्क शिक्षाको कार्यान्वयन र विद्यार्थीको भविष्यका विषयमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासमक्ष विद्यार्थीले प्रश्नैप्रश्न गरेका छन् ।
विहीबार हेटौँडा उपमहानगरपालिकाद्वारा आयोजित ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी विद्यार्थीले नगरको विकाससँगै शिक्षा क्षेत्रमा भएका काम र आगामी योजनाबारे मेयर लामासँग जवाफ मागेका हुन् । विद्यार्थीले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा, कोचिङ र ट्युसनका नाममा विद्यार्थीलाई बिहानदेखि बेलुकासम्म पढ्न बाध्य पार्ने प्रवृत्तिप्रति प्रश्न उठाएका थिए । एसइईको राम्रो नतिजाका लागि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म विद्यार्थीलाई घोकाउनु उपयुक्त हो वा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म गुणस्तरीय शिक्षण गर्नु प्रभावकारी हो भन्दै उनीहरूले शिक्षा विकास महाशाखालाई विद्यालयहरूको अनुगमन गर्न आग्रह गरे ।
त्यस्तै, हेटौँडा–१६ स्थित आकाशधारा पानीसाराको सामुदायिक विद्यालयमा अहिलेसम्म प्रविधिको पहुँच नपुगेको र एउटा पनि कम्प्युटर नभएको विषय विद्यार्थीले उठाएका थिए । कक्षा ८ मा एक साता मात्रै कम्प्युटर विषय पढ्न पाएको अनुभव सुनाउँदै उनीहरूले स्मार्ट सिटीको अवधारणा अघि सारिरहेको नगरमा सामुदायिक विद्यालयको अवस्था किन यस्तो छ भन्दै प्रश्न गरेका थिए । विद्यार्थीले मेयर तथा उपमेयरका रूपमा लामो समय नेतृत्व गर्दा शिक्षा क्षेत्रमा भएका पाँचवटा मुख्य सुधारका काम सार्वजनिक गर्न पनि आग्रह गरे । सरकारले कक्षा १० सम्म निःशुल्क शिक्षा घोषणा गरे पनि सामुदायिक विद्यालयमा विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको समाधान खोज्न उनीहरूले नगरपालिकाको ध्यानाकर्षण गराए ।
सामुदायिक र संस्थागत विद्यालयबीच देखिएको भौतिक पूर्वाधार तथा शैक्षिक सुविधाको असमानताप्रति पनि विद्यार्थीले चिन्ता व्यक्त गरेका थिए । संस्थागत विद्यालय पाँचतारे होटलजस्ता देखिने तर सामुदायिक विद्यालयका विद्यार्थी चप्पल लगाएर जीर्ण संरचनामा पढ्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ थियो । यसैगरी, हेटौँडा–१७ मा निर्माण गरिएको फुटसलमा शौचालयको सेफ्टी ट्याङ्कीसमेत नबनाइएको र निर्माण भएको लामो समयसम्म प्रतियोगिता सञ्चालन हुन नसकेको विषय विद्यार्थीले उठाएका थिए । खेलकुद पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोगमा पनि ध्यान दिन उनीहरूले आग्रह गरे ।
कार्यक्रममा विद्यार्थीले विज्ञान विषय अध्ययन गरी कक्षा १२ उत्तीर्ण गरेपछि रोजगारीका अवसर सिर्जना गर्न नगरपालिकाले गर्न सक्ने पहल, लागुऔषध दुर्व्यसनमा फस्दै गएका बालबालिकाको समस्या, सामुदायिक विद्यालयमा सञ्चालित छात्रावासको संरक्षण तथा तालिमलाई उपलब्धिमूलक बनाउने विषयमा समेत प्रश्न गरेका थिए । चुनावअघि गरेका प्रतिबद्धता पूरा भए नभएको विषयमा पनि उनीहरूले मेयरसँग जवाफ मागेका थिए । विद्यार्थीका प्रश्नको जवाफ दिँदै मेयर मीनाकुमारी लामाले हेटौँडालाई मानवीयता, समावेशिता, महिला तथा बालमैत्री र महिला हिंसामुक्त सहरका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताइन् । पूर्वाधार विकाससँगै शैक्षिक, आर्थिक र सामाजिक रूपान्तरण हुन सके मात्रै सहरको वास्तविक विकास हुने उनको भनाइ थियो ।
‘सहरीकरणसँगै प्रविधिमैत्री र स्मार्ट सिटी बनाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । तर, शैक्षिक र आर्थिक रूपमा रूपान्तरण हुनुका साथै समाजको सभ्यता पनि राम्रो हुनुपर्छ,’ उनले भनिन् । उनले हेटौँडा–८ मा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गरिएको उल्लेख गर्दै नगरलाई महिला तथा बालमैत्री बनाउने कामलाई प्राथमिकता दिएको बताइन् । मेयर लामाले विद्यार्थीका प्रश्न सुन्न र जवाफ दिनकै लागि आफू कार्यक्रममा सहभागी भएको स्पष्ट पारिन् । ‘मेरो कार्यकाल सकिन लाग्दा पनि विद्यार्थीका प्रश्न सुन्न र जवाफ दिन आवश्यक ठानेर आएको हुँ । स्थानीय सरकार प्रश्नबाट भाग्नु हुँदैन । स्थानीय सरकार नै भाग्यो भने समाज कसरी निर्माण हुन्छ ’ उनले भनिन् ।
शिक्षा क्षेत्रमा अपेक्षाअनुसार सुधार गर्न नसक्नुको एउटा कारण शिक्षा ऐन कार्यान्वयनमा देखिएको चुनौती रहेको उनले बताइन् । नगरपालिकाले शिक्षा ऐन बनाए पनि नियमावली बनाउन नसक्दा शिक्षामा अपेक्षित फड्को मार्न नसकिएको उनको भनाइ थियो ।
भौतिक पूर्वाधार निर्माण मात्रै विद्यालय सुधारको आधार नभएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्न योजनाबद्ध रूपमा काम भइरहेको बताइन् । हेटौँडाको शैक्षिक अवस्था पहिलेको तुलनामा सुधार हुँदै गएको र नगर शिक्षा हबका रूपमा विकास भइरहेको उनको दाबी थियो । समयअनुसार पाठ्यक्रममा समेत सुधार आवश्यक रहेको उनले बताइन् । यसैबीच, शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटाले हेटौँडाका सामुदायिक विद्यालयले विगतको तुलनामा शैक्षिक नतिजामा उल्लेखनीय सुधार ल्याएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको उनको भनाइ थियो ।
मेयर लामाले नगरपालिकाको स्रोतसाधन सीमित रहेकाले अस्पताल, सडक, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपरेको बताइन् । उनले डिग्री हासिल गर्दैमा मात्रै व्यक्ति सक्षम नहुने भन्दै शिक्षा व्यवहारिक, सीपमूलक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिइन् ।







