हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज मङ्गलबारबाट पुनः सञ्चालनमा आउँदैछ । अत्याधिक गर्मीका कारण मकवानपुरका विद्यालयहरु गत जेठ २१ गतेदेखिबाट बन्द भएका थिए । गर्मी बढेका कारण विद्यालयको पठनपाठन निरन्तरता दिन मनहरी गाउँपालिकाले विहानी कक्षा सञ्चालन गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार सूचना प्रकाशित गर्दै जेठ ३० गतेदेखि भने बिहानी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई अनुरोध गरेसँगै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मङ्गलबारबाट सञ्चालनमा आउन लागेको हो । हेटौंडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, जीएस निकेतन विद्यालय, ब्रम्हदिक एकेडेमी, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सुनगाभा शिक्षा निकेतन, तासिर इंग्लिस सेकेण्डरी विद्यालय, कृष्ण आदर्श इंग्लिस सेकेण्डरी विद्यालयले पूर्ववत समयमा विद्यालय सञ्चालन गर्ने सूचना जारी गरेको छ ।
मौसममा कुनै परिवर्तन नआएकोले र मौसम अनुकुलता नहुन्जेलसम्म अमर माध्यमिक विद्यालयले विहान कक्षा ६ बजेदेखि १० बजेसम्म पठनपाठन सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् । भूटनदेवी माध्यमिक विद्यालयको कक्षा १ देखि १० सम्मको पठनपाठन विहान ६ बजेदेखि १० बजेसम्म हुने, नर्सरी र केजीको पठनपाठन असार १ गतेसम्म बन्द गरिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए ।
जेठ ३० गतेदेखि अर्को सूचना प्रकाशन नहुन्जेलसम्म प्रगति माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि १० सम्मको पठनपाठन विहान ६ः२० बजेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी हेटौंडा ४ मा रहेको सत्यम जेभियर्स अङ्ग्रेजी माध्यमिक विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयले विहानको समयमा पठनपाठन गर्ने जनाएको छ । हेटौंडा नगरभित्र ७३ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालय रहेको छ ।






