हेटौंडा,बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना एवम् कलेज अफ मेडिकल साइन्सेस चितवनको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना भएको हो ।
स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २३१ जना, सशस्त्र प्रहरी बल नेपालका ४५ जना र १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २९१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये ७३ जना महिला र २१८ जना पुरुष रहेका थिए । नेपाल प्रहरी श्रीमती संघ अध्यक्ष कुसुम लता सिंहको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघ अध्यक्ष अनिता लामिछाने अर्याल, बागमती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) किरण बज्राचार्य लगायतको आतिथ्यता रहेको थियो । स्वास्थ्य शिविरमा निःशुल्क भिडियो ऐक्स–रे, इसिजी, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् आवश्यक रहेकाहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
२०४१ साल साल भदौमा स्थापना भएको नेपाल प्रहरी श्रीमती संघले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभै समग्र महिलाहरुको सीप विकास, आयआर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि लगायतको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले अमर प्रहरी परिवार, घाईते, दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहिन मानिसलाई राहत सहयोग तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसंग सम्झौता भइ कार्यान्वयनमा समते आएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकारी (प्रहरी नायब उपरीक्षक) मधुकुमार थापाले जानकारी दिए ।







