नवनियुक्त प्रदेश मन्त्रीहरुलाई बधाई तथा शुभकामना

हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नेपाली कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सोमबार एक कार्यक्रमका बीच कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका छन् । कांग्रेस बागमती प्रदेश सभापति बानियाँ तथा पदाधिकारीहरुले आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, ऊर्जा तथा जलस्रोत मन्त्री तीर्थ लामा, वन तथा तावरणमन्त्री मसिना खड्का, पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन र मन्त्री रामकृष्ण चित्रकारलाई खादा लगाएर बधाई तथा शुभकामना दिएका हुन् ।

कांग्रेस बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सभापति बानियाँले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आमजनताको आवश्यकतालाई ध्यानमा राखी जनप्रतिनिधिहरुले ल्याएको माग सम्बोधन गर्न आग्रह गरेका छन् । अहिले आर्थिक मन्दीले विश्वलाई नै आक्रान्त र प्रभाव पारिरहेको बताउँदै नेता बानियाँले प्रदेशमा परेको प्रभावलाई न्युनिकरण गर्दै बजेटले प्रदेशका जनताको विकासनिर्माणको आकांक्षालाई परिपूर्ति गर्दै त्यसमा दत्तचित्त भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका महामन्त्रीद्वय राजु श्रेष्ठ र कञ्चनचन्द्र बादे, सहमहामन्त्री हरिशरण श्रेष्ठ, प्रदेश सदस्यहरु चम्फुरत्न लामा, प्रज्वल दवाडी, प्रभातकुमार तामाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव राजु नेपाल, नेपाली कांग्रेसबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button