सुजन ढकाल
हेटौंडा/हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको आठौं संस्करण यही पुष १९ गतेबाट सञ्चालन हुने भएको छ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नेपालको विभिन्न शहरका करिब २० टिमको सहभागिता हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्सका सचिव कविन सांगामीले जानकारी दिए ।
यस्तै हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्सका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठलाई कार्यक्रम संयोजक बनाइएको छ । राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । ‘प्रतियोगितामा मकवानपुरसहित बारा, पर्सा, पोखरा, काठमाडौं, चितवन, नवलपरासी लगायतका जिल्लाका भेट्रान्स क्लवको सहभागिता रहनेछ’, आयोजक हेटौंडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीले भने, ‘सम्भव भएसम्म बंगलादेश र भारतको पनि एक/एक वटा टिमको सहभागी गराउने प्रयास भैरहेको छ ।’
पुराना खेलाडीहरुको बीचमा पुनर्मिलनसंगै फुटबल क्षेत्रको विकासका लागि हेटौंडा भेट्रान्सले प्रत्येक बर्ष प्रतियोगितालाई निरन्तरता दिँदै आएको उनले बताए । खेलको लागि हेटौंडा उपमहानगरपालिकासहित जिल्लामा रहेका विभिन्न सरकारी एवम् गैरसरकारी संघसंस्थालाई अनुरोध गरिएको आयोजकले बताएको छ । यस प्रतियोगिताको सातौं संस्करणको उपाधि एबीसी भेट्रान्स पोखराले जितेको थियो ।






