हेटौंडा, हेटौंडामा रहेका दुई वटा सहकारी संस्था एकीकरण हुने भएको छ । हेटौंडा २ मा रहेको ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा ४ मा रहेको सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेड एकीकरण हुन लागेको हो ।
यही चैत १० गते विशेष साधारणसभाको आयोजना गरी सहकारी एकीकरण हुन लागेको सजिलो उपभोक्ता सहकारी संस्थाका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । सहकारी संस्थाले सूचना प्रकाशन गरी चैत १० गते हुने विशेष साधारणसभामा उपस्थित हुन शेयर सदस्यलाई पत्राचार समेत गरिसकेको सहकारीले जनाएको छ ।

सजिलो उपभोक्ता सहकारी संस्थामा ३ सय जना शेयर सदस्य आबद्ध रहेको अध्यक्ष अधिकारीले जानकारी दिए । यसैगरी हेटौंडा २ मा रहेको ज्योति बचत तथा ऋण सहकारी संस्थामा १ हजार ९२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको अध्यक्ष विवेक पराजुलीले जानकारी दिए । दुवै सहकारी संस्था एकीकरण भएपश्चात सहकारीको शेयर पुँजी १ करोड ३० लाख हुने र कारोबार ४ करोड पुग्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।






