हेटौंडा/हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्ष पदमा चयन भएकी छिन् । काठमाडौंमा सम्पन्न भएको नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशनबाट लामा सर्वसम्मत सहकोषाध्यक्ष पदमा रुपमा चयन भएकी हुन् ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौंडाकै पहिलो महिला मेयरमा निर्वाचित लामाले संघ तथा प्रदेश र स्थानीय सरकारबीच समन्वयको काम गर्ने बताइन् । ‘नगरपालिका संघको सहकोषाध्यक्ष पदमा सर्वसम्मत चुनिएको छु । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम गर्ने योजना रहेको छ’, लामाले भनिन् । उनले वित्तिय संघीयतालाई पूर्ण कार्यान्वयनमा ल्याउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताइन् ।
अध्यक्षमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् । यस्तै उपाध्यक्षमा चौतारा सांगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र उपमहासचिवमा काठमाडौं महानगरपालिकाका सुनिता डंगोल र कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई चयन भएका छन् ।







