बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

हेटौंडा, १ असार/आर्थिक वर्ष २०७९/०८० का लागि बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जमरकट्टेलले चालु आर्थिक बर्षको भन्दा ठूलो आकारको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११ दशमलव ७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २ दशमलव ८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तिय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको मन्त्री जमरकट्टेलले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना भने नयाँ थप गरेको छैन । अधिकांश पुरानै आयोजनामा जोड दिइएको छ ।

विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षातर्फ जोड दिँदै बजेट विनियोजन गरेको सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री जम्मकट्टेलले वन जंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए । प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३
करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८
करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अनुमानित बजेटमा सरकारले रत्ननगरमा आर्युवेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन
गरिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *