हेटौंडा/हेटौंडामा रहेको भाटभटेनी सुपरमार्केटलाई साढे २ लाख जरिवाना हुने भएको छ । उपभोक्तालाई झुक्काएर ठगी गरेको आरोपमा भाटभटेनी सुपर मार्केट हेटौंडालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ लाख ५० हजार रुपैयाँ जरिवना गर्ने भएको हो ।
बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरिएको चिनी र नुन पुनः प्याकिङ गरेको भन्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले जरिवानाका लागि पत्र काटेको हो । अनुगमनका क्रममा कंडेल नेतृत्वको टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो । त्यस्तै न्यास्लेको कफीको उल्लेखित मूल्य भन्दा बढी गराई बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको थियो ।
अनुगमन टोलीले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धि ऐन २०७६ को दफा ६० को खण्ड ‘ज’ अनुसार कसुर गरेको भन्दै उक्त जरिवाना तोकेको हो । अनुगमन टोलीले भाटभटेनीबाट बरामद गरेको उक्त खाद्य वस्तुहरु विक्री वितरणका लागि रोक लगाएको छ । भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको अनुगमन टोलीकी सदस्य टीका शर्माले जानकारी दिइन् ।







