जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललित घलान निर्वाचित भएका छन् । विहीबार भएको निर्वाचनबाट स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी भएका हुन् । जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका हुन् । यस्तै जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध घोषणा भएका थिए । उनको एकल उम्मेदवारी परेपछि निर्विरोध घोषित भएका हुन् ।
महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेबाट बिना कुमारी थिङ लामाले (३ मत) प्राप्त गरे । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएका हुन् ।
खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी १७ मत र सुवर्ण गोपाली १७ मत प्राप्त गरी विजयी भए । नेकपा एमालेका तोयानाथ तिमल्सिना ३ मत प्राप्त गरेका थिए । जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी भएको छ ।







