विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सन मकवानपुरको अन्तरक्रिया

हेटौंडा, संघीय संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विधेयकका केही प्रावधानले निजी शिक्षा क्षेत्रको अस्तित्व र योगदानमाथि नै प्रश्न उठाएको आरोप लगाउनुभयो । उहाँका अनुसार विधेयकले असमान व्यवहार गर्ने मात्र नभई संस्थागत अस्थिरताको जोखिम समेत बोकेको छ, जसका कारण विभिन्न निजी शैक्षिक संघ–संस्था एकजुट भई आन्दोलनमा उत्रिएका छन् ।

अध्यक्ष सुवेदीले पछिल्लो समय प्याब्सनको आन्दोलनबारे गलत भ्रम फैलाउने प्रयास भएको भन्दै आपत्ति जनाउनुभयो । ‘हाम्रो उद्देश्य विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यसँग खेलवाड गर्नु होइन,’ उहाँले स्पष्ट पार्नुभयो ।
यसै अवसरमा प्याब्सन मकवानपुरका सल्लाहकार मदन दाहालले पूर्ण छात्रवृत्ति व्यवस्था र निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानप्रति आपत्ति जनाउनुभयो । उहाँले २०५९ सालमा सरकारले बनाएको कानुनअनुसार नै निजी विद्यालय कम्पनीमा परिणत भएको स्मरण गर्दै, राज्यले कानुन विपरीत सेवा–सुविधा कटौती गर्न नहुने बताउनुभयो ।

‘राज्यले लगानी सुरक्षित गरिदिएपछि विद्यालय राज्यले लिँदा फरक पर्दैन,’ दाहालले भन्नुभयो । साथै, सरकारी विद्यालयमा जत्तिकै लगानी निजी विद्यालयका विद्यार्थीमा गर्ने हो भने छात्रवृत्तिका लागि आफुहरू तयार रहेको पनि उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *