हेटौंडा, दोलखाको त्रिभुवन माध्यमिक विद्यालय बागमती प्रदेश स्तरिय विज्ञान प्रदर्शनीमा प्रथम भएको छ । शनिबार हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षा निर्देशनालय बागमती प्रदेशद्वारा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा ११ वटा जिल्लाका विद्यालयहरु सहभागि भएका थिए । विज्ञानको प्रयोगात्मक प्रदर्शनीमा स्थानीय तहबाट नै छनौट हुँदै जिल्ला र प्रदेशसम्म आएका ११ जिल्लाका ११ विद्यालयहरुको उपस्थिती रहेको थियो ।
प्रदर्शनीमा प्रदेशका रामेछाप र ललितपुर जिल्लाका विद्यालय भने उपस्थित भएका थिएनन् । दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले प्रदेशका ११ मध्ये जिल्लाका १० विद्यालयलाई पाखा लगाउँदै प्रथम स्थान हात पार्न सफल भएको हो । सो विद्यालयका छात्रा इशा भण्डारी र छात्र निशान्त चर्मकारले तयार परेको विज्ञानको प्रयोगात्मक सामग्रीलाई निर्णयक मण्डलले कुल १०० अंक मध्ये ७२ अंक प्रदान गरेको थियो ।
निर्णायक मण्डलले स्थानीय सामग्रीको उपलब्धता, आर्थिक व्ययभार, प्रस्तुतीकरण, प्रभावकारीता लगायतका विषय निर्धारण गरी उनीहरुको प्रस्तुतीको मापन गरेका थिए । जीव विज्ञानका शिक्षक रामयण पाठक, रसायनका भोलानाथ गौतम र भौतिक विज्ञानका प्रदिप उप्रतीले प्रदर्शनीको निर्णयकको भूमिका निर्वाह गरेका थिए । सो विद्यालयले आफ्नो प्रयोगात्मक प्रदर्शनीमा बहुउदेशियक कृषि टनेललाई प्रस्तुत गरेका थिए । कम खर्चमा नै आधुनीक प्रविधीसहित कृषि उत्पादन गर्न सकिने गरी सा टनेललाई प्रस्तुत गरिएको थियो । हरेक स्थनमा बेमौसमी तरकारी तथा कृषिजन्य उत्पादन, पाल्ट्री फार्म लगायतमा सो टनेल प्रयोग गर्न सकिने गरि निर्माण गरिएको प्रदर्शनीमा प्रस्तुती दिँदै विद्यालयकी छात्रा भण्डारीले जानकारी दिइन् ।
प्रदर्शनीमा मकवानपुरको महेन्द्र माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्न सफल भएको छ । भीमफेदी गाउँपालीका–६ स्थित सो विद्यालयले मकै छोडाउने हाते मेसिन, प्लास्टीकको टेलिस्कोप, पानी शुद्धिकरण प्रणलीको प्रस्तुती दिएको थियो । सो विद्यालयका छात्र नरेश थापा मगर र स्मारिका थापा मगरले मकै छोडाउने हाते मेसिनको प्रयोगात्मक प्रयोग गरेका थिए । प्रदर्शनीमा जनक माध्यमिक विद्यालय तेस्रो भएको थियो । काभ्रेको सो विद्यालयका छात्रा रविना मैनाली र छात्र विवेक पकुवालले पैदल यात्राबाट विद्युत उत्पादनको प्रयोग गरेका थिए । प्रदर्शनीमा प्रथम हुने दोलखाको त्रिभुवन माध्यमिक विद्यालयले १५ हजार रुपैयाँ, दोस्रो हुने मकवानपुरको महेन्द्र माध्यमिक विद्यालयले १३ हजार रुपैयाँ, तेस्रो हुने काभ्रेको जनक माध्यमिक विद्यालयले १० हजार रुपैयाँ र सानत्वना हुने सिन्धुलीको श्री माधयमिक विद्यालयले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रदर्शनीमा रसुवाको नमुना इभरग्रिन माध्यमिक विद्यालयले स्मार्ट इको भिलेज, विद्युत गृह, फोहर व्यवस्थापन लगायतका प्रस्तुती दिएका थिए भने नुवनकोटको नवजीवन माध्यमिक विद्यालयले वनस्पतीको पाहरुको प्रयोगबाट अत्तर तथा जैविक औषधी बनाउने प्रविधि प्रस्तुत गरेका थिए । चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले सेन्सर डस्टवीन, राडर सिस्टम, सौर्य हिटर लगायतको प्रस्तुत गरेका थिए ।
धादिङको त्रिपुा सुन्दरी माध्यमिक विद्यालयले विद्युत उत्पादनको चक्र तथा विकासको प्रस्तुती दिएका थिए । पानीघट्टबाट विद्युत उत्पादनको प्रविधिको प्रस्तुती उनीहरुले दिएका थिए । भक्तपुरको अक्सफोर्ड प्राक्टिकल स्कुलले भुकम्प सेन्सर घर, फोहर व्यवस्थापन, ग्रिन हाउस, वर्षतको प्रयोगबाट कृषि उत्पादनको प्रविधिका विषयमा प्रस्तुती दिएका थिए । सिन्धुपाल्चोकको सेतीदेवी माध्यमिक विद्यालयले सौर्य मण्डलका ग्रह तथा परिक्रमा लगायतका प्रस्तुती दिएका थिए । काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयले प्रविधिको प्रयोग गर्दै मोबाईलबाट कन्ट्रोल गर्न सकिने कारको प्रयोग देखाएका थिए । उनीहरुले आगो, इन्धन तथा ग्यासको लिकेजको सेन्सर समेत दिने प्रविधी जडान गरिएको प्रस्तुती दिएका थिए ।






