सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु व्यवस्थाको विरुद्धमा उभिनसक्ने : मन्त्री श्रेष्ठ

हेटौंडा, बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताए।

मंगलबार सिन्धुली उद्योग बाणिज्य संघको ३३ औं साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रबक्ता समेत रहेका मन्त्री श्रेष्ठले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने भएकोले यसका लागि तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपील समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गरे । मरिण, कमला र चदहा नदी नियन्त्रण गरि खेतीयोग्य उर्वर जमिन उकास गर्ने, सिंचाइको व्यवस्था गर्ने र ती क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा विकास गरि जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने उनले बताए । उनले बागमती प्रदेश सरकारले कृषि पकेट क्षेत्रको अवधारणा ल्याएको जानकारी दिदैँ चाँडै पकेट क्षेत्रहरू घोषणा गरि आधुनिक र व्यवसायीक कृषि उत्पादन सुरु गर्ने बताए ।

महाभारत क्षेत्रमा अर्गानिक तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरि व्यवसायीक उत्पादनमा जोड दिन तरकारी एम्बुलेन्सको अवधारणासहित बागमती प्रदेश सरकारले योजना बनाइरहेको पनि मन्त्री श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button