हेटौंडा, हेटौंडा १० मा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले आफ्नो ३० औँ स्थापना दिवस बुधबार मनाइएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।
दिवसका दिन २०७८ सालको शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने १ सय १० जना विद्यार्थीलाई शैक्षिक अवार्ड प्रदान गरेको विद्यालयका सहप्रधानाध्यापक एसके निधनले जानकारी दिए । विद्यालयको स्थापना दिवसको अवसरमा प्ले ग्रुप तथा कक्षा नर्सरीसम्मको लागि एक महिना निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । स्थापना दिवसकै दिन निःशुल्क विद्यार्थी भर्ना गराउनु भएका ३० जना अभिभावकलाई अभिमूखीकरण कार्यक्रम समेत प्रदान गरेको विद्यालयले जनाएको छ । उक्त कक्षामा ४ वटा सेक्सनको लागि १ सय २० जना विद्यार्थीलाई मात्र भर्ना लिइने छ ।
स्थापना दिवसको अवसरमा महिला तथा पुरुष विद्यार्थीबीच भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । विद्यालयमा करिव १ हजार ५ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य मदन दाहाल, विद्यालयका पिटिए अध्यक्ष प्रधुम्न उपाध्यायलगायतको आतिथ्यता रहेको थियो ।







