हेटौंडा, मकवानपुरका क्रसर व्यवसायीहरुले मापदण्ड अनुकुलको स्थानमा आफूहरुलाई पुनः स्थापनाको व्यवस्था मिलाइदिन माग गरेका छन् । मंगलबार संचारकर्मीहरु संगको भेटघाटमा सरकारले निर्धारण गरेको क्रसर व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड स्विकार गर्न तयार भएपनि सो अनुकुलको स्थान व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
गृह मन्त्रालयले केही दिन अघि परिपत्र जारी गर्दै देशभरका अवैध रुपमा संचालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएसंगै मकवानपुरका १०२ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु बन्द भएका थिए ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य शंकर न्यौपाने अनुसार मकवानपुरमा सरकरले तोके अनुसारको मापदण्ड पुरा हुने कुनैपनि स्थान नरहेकाले व्यवसायीहरुले त्यसलाई कार्यान्वयन गर्न नसकेका हुन् । उनले सरकारले अव्यवहारीक मापदण्ड बनाएर व्यवसायीहरुलाई समस्यामा पारेको बताए । उनले सरकारको अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयले व्यवसायीहरुमा मात्र नभइ समग्र निर्माण क्षेत्रमा समेत असर परेको बताए ।
त्यस्तै मकवानपुर क्रसर व्यवसायी संघका अध्यक्ष राजाराम कार्कीले सरकारले विगतमा निर्धारण गरेको मापदण्ड र पछिल्लो समयमा बनाएको मापदण्डमा थुप्रै विषयहरु फेरबदल भएकाले कार्यान्वयनमा समस्या भएको बताए । उनले सरकार कै कारण विगतको मापदण्ड अनुसार अनुमती दिएका क्रसरहरु समस्या भोग्दै आएको बताए । सरकारले परिस्थिती र व्यवहारीक मापदण्ड बनाएर क्रसर व्यवसाय संचालनको वातावरण बनाउनु पर्ने माग गरे ।
सरकारको अव्यवहारीक मापदण्डका कारण मकवानपुरका क्रसर व्यवसायीहरुले दैनिक लाखौ रुपैयाँ आर्थिक घाटा व्यहोर्न बाध्या भएको उनले बताए । उनका अनुसार मकवानपुरका क्रसर व्यवसायीहरुले वार्षिक रुपमा ५० करोड रुपैयाँ राजस्व बुझाउँदै आएको थियो ।
सरकारले निर्धारण गरेको मापदण्ड अनुसार क्रसर उद्योग संचालनको लागि राजमार्ग राइट अफ वे बाट ५०० मिटर टाढा हुनुपर्ने छ भने खोला नदी किनार, पक्की पुल, एतिहासिक ताल तलैया, पोखरी, जलाशयबाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक पुरातात्वीक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तराष्ट्रिय सिमा, वन निकुञ्ज र आरक्ष, घना बस्तीबाट २ किलोमिटर, चुरे पहाडको फेदीबाट १५०० मिटर र हाइटेन्सन लाइनबाट २०० मिटर टाढा हुनुपर्छ ।






