हेटौंडा, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी भीमफेदी गाउँपालिकामा रहेको ५ वटा विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ ।
भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी–१ मा रहेको जनता आधारभूत विद्यालय र लक्ष्मी प्राथमिक विद्यालय, भीमफेदी–९ मा रहको नमूना आधारभूत विद्यालय र पदमज्योति आधारभूत विद्यालय, भीमफेदी २ मा रहेको पोखरी प्राथमिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको संघका अध्यक्ष नेत्रप्रसाद खतिवडाले जानकारी दिए । पुस २८ गते संघले हेटौंडामा रहेको भैरव आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गर्ने छ ।
‘भीमफेदी गाउँपालिकामा रहेको पाँच वटा विद्यालय र हेटौंडा उपमहानगरपालिकाको १ वटा गरी ६ वटा विद्यालयमा अध्ययनरत करिव ३ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने योजना बनाएका हौँ ।’ उनले भने –‘संघमा आवद्ध कार्यसमिति सदस्यबाट संकलन भएको १ लाख पचास हजार रुपैयाबाट न्यानो कपडा खरिद गरी गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरेका हौँ ।’ संघले बुधबार भीमफेदी गाउँपालिकामा रहेको विभिन्न विद्यालयमा पुगी वडाअध्यक्ष र विद्यालयका प्रधानाध्यापकको रोहवरमा कपडा हस्तान्तरण गरेको संघले जनाएको छ।
यसैगरी कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले भीमफेदी ९ बाघमाराको एक परिवारलाई सिरक, डस्ना सहयोग गरेको छ । कार्यक्रममा संघको निवर्तमान अध्यक्ष तेजराज अधिकारी, पूर्व अध्यक्ष समिर डंगोल, सल्लाहकार रविन्द्र घिमिरे, महासचिव मधुसुदन अर्याल, सचिव सन्तोष घिमिरे, सदस्य पवन दुलालको सहभागिता रहेको थियो ।






