हेटौंडा, हेटौंडा १३ मा रहेको कृषक जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः केशव मुडभरी चयन भएका छन् । शनिबार भएको सहकारीको २१ औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट नयाँ सञ्चालक समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष मन्जु लामा, सचिवमा सुरेश कुमार स्याङ्वो, कोषाध्यक्षमा कविता मैनाली चयन भएका छन् । यसैगरी सदस्यमा चुडामणी तिमल्सिना, कमला खतिवडा, नारायण सापकोटा, मेघनाथ ढुङ्गाना र दिलबहादुर रुम्बा चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बगान सिंह थिङ र सदस्यमा किशोर मैनाली र अर्जुन गौतम पुरानै दोहोरिएका छन् । सहकारीको अध्यक्ष केशव मुडभरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
१ सय ८२ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ४ लाख ४४ हजार ८ सय, ऋण लगानी ६३ लाख ६६ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा सबैभन्दा बढी दूध विक्रि गर्ने सुकुमाया थोकर, गुणस्तरीय दूध बेच्ने रेशम विक, नियमित बचतकर्ता अन्जन खतिवडा, असल ऋणी देवकी ढुङ्गानालाई सम्मान गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ नम्वर वडा कार्यालयका अध्यक्ष पेम्बा लामा, राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।







