नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

हेटौंडा, बागमती प्रदेश सरकारमा बुधबार एकैदिन ८ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । सत्तारुढ गठबन्धनका ३ दलबाट बुधबार ८ जना मन्त्री बनेका हुन् ।

ADVERTISEMENT

नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा सो दलबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ जना मन्त्री नियुक्त भएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा यससँगै सो दलका मन्त्रीको संख्या ४ पुगेको छ भने एमालेका पनि ४ जना पुगेको छ । यस्तै राप्रपाका ३ जना मन्त्री बनेका छन् । यससँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।

गत पुस २५ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले २६ गते शपथ ग्रहण गर्दै प्रदेशमा कायम रहेको १४ मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । सोही अनुसार प्रदेशका प्रमुख सचिव मुकुन्द्र निरौलाको संयोजकत्वमा मन्त्रालय घटाउन अध्ययनकार्यदल गठन गरेका भएको थियो । उक्त कार्यदलको सुझाव अनुसार मुख्यमन्त्री जम्कट्टेलले मंगलबार कुल सांसदको १० प्रतिशत हुने गरी प्रदेशमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेका थिए । ११ मन्त्रालय कायम गरेको भोलिपल्ट नै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

ADVERTISEMENT

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्रीमा युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशवप्रसाद पोखरेल नियुक्त भएका छन् । यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा तथा पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रीमा राजु विष्टले जिम्मेवारी पाएका छन् । यसअघि प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जिम्मेवारी पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *