माघ २७ गते बाल साहित्य महोत्सव

हेटौंडा/ हेटौंडामा तेस्रो संस्करणको हेटौँडा बाल कला–साहित्य महोत्सव हुने भएको छ । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा माघ २७ र २८ गते हेटौंडा बाल कला साहित्य महोत्सव आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

हेटौंडा बाल कला साहित्य महोत्सवलाई लक्षित गरी विद्यालयले शुक्रबार हेटौंडा उपमहानगरपालिका भित्र रहेको सामूदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको थियो । महोत्सवको कार्यक्रम संयोजक सिएम रिमालको अध्यक्षतामा छलफल कार्यक्रम भएको थियो ।

सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने तथा कलाको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको रिमालले बताए । कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले बालबालिकामा पहिचानसहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक रचना तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुग्ने उनले बताए ।

माघ २७ गते नवोदय विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका लागि विभिन्न कार्यशाला गराई सहजीकरण तथा सहकार्य गर्ने योजना रहेको छ भने माघ २८ गते विभिन्न प्यानल डिस्कोर्स तथा कला पहिचानसम्बन्धि विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको रिमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *