हेटौंडा, हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाले हेटौंडा बाल कला साहित्य महोत्सवले हेटौंडालाई अन्तराष्टिूयसम्म चिनाउने काम गरेको बताएकी छिन् । शनिबार नवोदय शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा भएको महोत्सव कार्यक्रममा बोल्दै मेयर लामाले महोत्सवमा भारत र पाकिस्तानको लेखकलाई आयोजकले बोलाएर बाल कला सम्बन्धि जानकारी दिएकोमा विद्यालयको प्रशंसा व्यक्त गरेकी छिन् । महोत्सवले हेटौंडालाई चिनाउने मात्र नभई यसले सिक्ने र सिकाउने माध्यमको भूमिका निर्वाह गर्ने उनले औल्याएकी थिइन् ।
हेटौंडा उपमहानगरपालिकाले साहित्यतर्फ उजागर गर्ने उद्देश्यले कला प्रतिष्ठान ऐन निर्माण गरिरहेको लामाले बताइन् । नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस कक्षा १२ मा अध्ययनरत सरोज शाहको गीत संग्रह ‘पहिलो कोपिला’ को पुस्तक विमोचन गरेकी थिइन् । कार्यक्रममा विद्यालय रुपान्तरणका अवस्था र चुनौती बहस भएको थियो । मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले सञ्चालन गरेको बहस कार्यक्रममा शिक्षाविद प्रविज्ञ रेग्मी, शिक्षाविद इश्वर कोइराला र अमर माविका प्रधानाध्यापक मालती उप्रेती रहेका थिए ।
यसैगरी शनिबार नै बहस सीमा पारिका कथाहरुसँग सम्बन्धी बहस कार्यक्रम भएको थियो । उक्त बहस कार्यक्रममा पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक तथा वृत्तचित्र निर्देशक सुमना मिश्र रहेका थिए भने बाल साहित्यकार अनुराधा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नाटककार यमन श्रेष्ठले दुईवटा गीत गाएका थिए । कार्यक्रममा जीएस निकेतन कक्षा ९ मा अध्ययन गर्ने समर्पण न्यौपाने, बालजागृति अंग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययन गर्ने ऋत्विक केबीलाई सम्मान गरेको छ । समर्पणले अभियुक्त समय कविता संग्रह र केबीले कोरिएका धर्साहरुको कविता संग्रह किताब निकाल्नु भएको थियो । शनिबार विभिन्न खाना, लुगा र खेलसम्बन्धी स्टलहरु राखिएको थियो । विद्यालयको प्राङ्गणमा काठमाडौं पब्लिकेशनले पुस्तक प्रदर्शनी पनि राखेको थियो । महोत्सवमा आएका विद्यार्थी, शिक्षकलगायतले पेस पेन्टिङ गर्नुका साथै विद्यार्थीहरुले कोर्नुभएको चित्रहरुको अवलोकन गरेका थिए ।
शुक्रबार विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा १८ वटा कार्यशाला सञ्चालन भएको थियो भने शनिबार विभिन्न विषमया २५ वटा कार्यशाला सञ्चालन भएको थियो । महोत्सवमा चितवन, नवलपुर, बारा, रौतहट, हेटौंडा र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागीता रहेको थियो । दुई दिन सम्म सञ्चालन भएको कार्यशालामा सहजीकरण गर्नुभएको व्यक्तिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो संस्करणको महोत्सव नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसनले आयोजना गरेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको हेटौंडा बाल कला साहित्य महोत्सवमा शनिबार मौलिक संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले विभिन्न नृत्य, गायन प्रस्तुत भएको थियो । काठमाडौं बसोबास गर्ने नेवारी समुदायका बज्राचार्यहरुको तान्त्रिक नृत्य चरिया नृत्य, अमर स्कूलका विद्यार्थीहरुले तामाङ सेलो, मकवानपुर गढी कला घरले पन्चे बाजा प्रस्तुत गरेका थिए ।
नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्र चिराग डंगोलले नेवारी गीत, आधुनिक राष्टिूय माध्यमिक विद्यालयका विद्यार्थीले नेवारी नृत्य, हर्नामाडी भजन समूहले खैजडी बाजा प्रस्तुत गरेका थिए । सारंगी गन्धर्व, थारु नृत्य, मकवानपुर बाल विद्या सदनका विद्यार्थीहरुले कौराहा नृत्य, सोलिड्यारिटी इन्टरनेशनलका विद्यार्थीले थारु नृत्य प्रस्तुत गरेका थिए ।






