प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई–मधेश द्रुतमार्ग अवलोकन

हेटौंडा, निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले तराई–मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिन आवश्यक सम्पूर्ण नीतिगत निर्णय तत्काल गरिने बताएका छन् । मंगलबार द्रुतमार्गको निरीक्षणपश्चात प्रधानमन्त्री दाहालले तीव्र रूपमा काम भइरहेको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।

ADVERTISEMENT

कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ । ‘अब द्रुतमार्ग द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौं,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णयहरु गरिने जनाएका छन् । ‘द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ,’ उनले भने । आयोजनाको जिम्मेवारी आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई दिएको समेत उनले स्मरण गराए । ‘फास्ट ट्रयाक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठूलो बहस भएको थियो । त्यतिबेला म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ,’ उनले भने ।

ADVERTISEMENT

दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा फास्टट्रयाकको शिलान्यास गरेका थिए । मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–५, राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयको गुनासो र जिज्ञासा सुनेका थिए । तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । फास्टट्रयाक बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ । प्रधानमन्त्रीले मकवानपुरको बकैया गाउँपालिकाको लेनडाँडा र राजदमार तथा भीमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गरेका थिए ।

सरकारले २०७४ साउन २७ मा द्रुतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । सेनाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाए पनि कहिले सकिन एकिन छैन । प्रधानमन्त्रीसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, मुख्यसचिव शंकरदास वैरागी तथा सांसदहरूको उपस्थिति थियो । काठमाडौंलाई तराई÷मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *