‘भुटानी शरणार्थी प्रकरणको छानबिन सही ढंगबाट हुनुपर्छ’

हेटौंडा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन सही ढंगबाट हुनुपर्नमा जोड दिएका छन् । संवैधानिक निकायहरुलाई सबल नबनाएसम्म ती प्रकरणहरु तार्किक निष्कर्षमा पुग्न नसक्ने उनको दाबी छ । आइतबार हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विकास निर्माणको काम तीब्र गतिमा हुन नसक्दा आर्थिक संकटहरु देखापरेको बताए ।

पछिल्लो समय बदलिँदो परिवेशमा वैकल्पिक शक्ति निर्माण गरेर सुशासन सम्बन्धी जनताका आकांक्षाहरु पूरा गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘जनतामा निराशा पैदा भएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विकास निर्माणका काम तीब्र गतिमा हुन नसक्दा पछिल्लो समय देशमा राजनीतिक तथा आर्थिक संकटहरु देखा परेको छ । आगामी दिनमा वैकल्पिक शक्तिहरु निर्माण गरेर सुशासन सम्बन्धी जनताका अपेक्षाहरु पूरा गर्न सक्नु पर्छ ।’ राजनीतिक दलहरुले विगतमा व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र वर्तमान समयमा जनताका अवस्था परिवर्तनमा भएको ढिलाईलाई सम्बोधन गर्न अग्रगामी योजना कार्यान्वयन गरी जनताका समस्याहरु समाधान गर्नुपर्ने उनको भनाइ छ ।

अन्यथा जनताका असन्तुष्टि जायज हुने र विकल्प दिनेहरुले अग्रगामी, लोकतान्त्रिक परिवर्तनकारी विकल्प दिन नसक्दा प्रतिगामी शक्तिहरु सक्रिय हुने डा। भट्टराईले बताए । गलत नियत राख्ने शक्तिहरु हावी हुँदा देश अझ संकटमा फस्दै जाने उनले प्रस्ट पारे । देशबाट ठुलो मात्रामा श्रम पलायन हुँदा ठुलो भारतीय अर्थतन्त्रसँग देशको उद्योगधन्दाहरुले प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा पछिल्लो समय कृषि क्षेत्र पनि त्यसको सिकार बनेको डा। भट्टराईले बताए । उक्त समस्याको समाधान आन्तरिक र बाह्य रुपमा पनि सबै मिलेर खोज्नु पर्ने अवस्था आएको उनको भनाइ छ । अहिलेको संकटको समाधान सबै मिलेर गर्न नसकेको खण्डमा देश अँध्यारो सुरुङमा फस्ने उनले बताए ।

त्यस्तै प्रदेश सरकारका क्षेत्राधिकारमा संघको हस्तक्षेपले संघीयतालाई कमजोर बनाउने उनले बताए । उनले संविधानले दिएको अधिकार अनुसार प्रदेश सरकारहरु सञ्चालन हुनुपर्ने र यसमा संघले हस्तक्षेप गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button