पहिलो दिनको क्रिकेटमा चितवन विजयी

हेटौंडा, हेटौंडामा सुरु भएको तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा चितवन क्रिकेट टिमले पहिलो खेलमा जित हाँसिल गरेको छ । आइतबार भएको पहिलो खेलमा मकवानपुर क्रिकेट टिमलाई ४ विकेटले पराजित गर्दै चितवनले पहिलो जित दर्ता गरेको हो ।

ADVERTISEMENT

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले २९ ओभरमा अलआउट हुँदै ११८ रन बनायो । मकवानपुरका लागि शुभ कंशाकारले ४३ रन, गौरव खड्काले ३३ रन र सुमन सुनारले २१ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मकवानपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका कप्तान दिपेश श्रेष्ठले ३ विकेट लिए ।

११९ रनको लक्ष्य पछाएको चितवनले २५ ओभर ५ बलमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चितवनका लागि जेनिस क्षेत्रीले नटआउट हुँदै ६३ रन बनाए । जेनिस नै प्रतियोगिताको म्यान अफ द म्याच समेत घोषित भए । मकवानपुरको लागि शुभ कंसाकारले २ विकेट तथा समिर चौलागाईले र पियुष शर्माले समान १ विकेट लिए ।मंगलबार र बुधबार पनि चितवन र मकवानपुरबीच मैत्रीपूर्ण दुई खेल हुनेछ ।

मकवानपुर जिल्ला क्रिकेट संघको निमन्त्रणामा मैत्रीपूर्ण खेल सञ्चालन भएको हो । पूर्व कप्तान राम नरेश गिरी तथा तक्षक सिम्खडासहित सिनियर ४ खेलाडीलाई समावेश नगरी यु–१९ टिमका ४ खेलाडीलाई अवसर दिइएको थियो । तीनदिन लगातार हुने मैत्रीपूर्ण खेलमा मकवानपुर जिल्ला क्रिकेट टिमको कप्तानी सुमन सुनारले गरेका छन् । चितवन जिल्ला क्रिकेट टिमको कप्तानी दिपेश श्रेष्ठले गरेका छन् । तीन एकदिवसीय मैत्रीपूर्ण खेलको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको उपस्थितिमा भएको हो ।

मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले क्रिकेट खेलमा राम्रो सम्भावना भएर पनि खेल मैदानको अभावमा अपेक्षित विकासमा बाधा पुगेको बताए । मकवानपुर जिल्लाले यसअघि पनि चितवन, बारा, पर्सा, रौतहट जिल्लासँग मैत्रीपूर्ण खेल खेल्दै आइरहेको छ । मकवानपुर जिल्ला बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम समेत हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *