हेटौंडा, मकवानपुर रिकभरिङ समूहले विद्यार्थीहरुलाई लागूऔषधविरुद्ध सचेतना सन्देश दिइरहेको छ । विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउन मकवानपुर जिल्लाको विभिन्न विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको समूहले अहिले निर्वाचित जनप्रतिनिधिहरूलाई समेत राखेर सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
माघ १६ गते जनजागृति माध्यमिक विद्यालय, माघ १७ गते प्रगति माध्यमिक विद्यालय, माघ १८ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, माघ १९ गते त्रिभुवन माध्यमिक विद्यालय, माघ २० गते महेन्द्र किरण माध्यमिक विद्यालय, माघ २२ गते भुटनदेवी माध्यमिक विदालय, माघ २३ गते बालज्योति माध्यमिक विद्यालय, माघ २४ गते चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिसकेको र अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गरिने मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्यले जानकारी दिए ।
विद्यार्थीहरुलाई लागूऔषध दुव्यर्सनमा फस्नबाट रोक्दै लागूऔषधरहित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको शाक्यले बताए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको सचेतनामूलक कार्यक्रममा रिकभरिङ नेपाल तथा राष्ट्रिय टिबी नेटवर्क नेपालको समन्वयमा कार्यक्रम भएको हो । मकवानपुर रिकभरिङ समूहले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम गरी शिक्षक, विद्यार्थी, अभिभावकलाई लागूऔषधविरुद्ध सचेतना कार्यक्रम विगत ९ वर्ष देखिबाट नै सञ्चालन गर्दै आइरहेको थियो । संस्थाले स्थापनाकालदेखि नै लागूऔषध दुव्र्यसनबाट बच्नकालागि विभिन्न सचेतना कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।







