हेटौंडा, पुर्व पश्चिम राजमार्ग अन्तर्गतको पथलैयादेखि नारायणगढ खण्डको सडक विस्तार कार्यका लागि डिभिजन कार्यालय हेटौंडाले निकालेको सडक सिमामा निर्माण भएका घर टहरा हटाउने सूचनाको म्याद सकिन १० दिन बाँकी रहेको छ । आगामी १५ गते सडक सिमा क्षेत्रमा रहेका घर टहरा हटाउने सूचनाको म्याद सकिन्छ ।
सडक विस्तारका लागि पछिल्लो पटक असार १० गते सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन आग्रह गरेको थियो ।
उक्त अवधिमा राजमार्ग अन्तर्गतको दायाँबायाँ २५–२५ मिटर सडक सिमा भित्र निर्माण भएका हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरु खाली गर्नु पर्ने सूचनाको आशय हो । सोही सूचना अनुसार हेटौंडा उपमहानगरपालिकाले पनि बजार क्षेत्रको सडक विस्तारमा सघाउन सडक किनारमा राखिएका फूल तथा विरुवाहरुको गमलालाई स्थान्तरण गर्न थालेको छ । उपमहानगरपालिकाको गत असार दोस्रो सातामा बसेको नगरसभाबाट सडक विस्तारमा समन्वय र सहकार्य गर्ने सर्वसम्मत निर्णय नै गरेको थियो । सोही अनुसार उपमहानगरपालिकाले बुधबार रातिबाट सडक किनारमा भएका गमला तथा फलामे बार हटाउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गको २५ मिटर क्षेत्रमा पर्ने भएपछि उपमहानगरपालिकाले उक्त सडक अन्तर्गत रहेको हेटौँडा–१ र १० तर्फको राप्ती रोडको सडक पेटीमा राखिएका गमला स्थानान्तरण गरेको हो ।
उपममहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न उक्त सडक क्षेत्रको किनारमा रहेका अशोकका विरुवाहरु पनि स्थानान्तरण गर्ने तयारी गरेको छ भने सबै वडा अध्यक्षहरुलाई सडक विस्तार कार्यमा सहजिकरण गर्न आग्रह गरेको छ ।
लामो समयदेखि उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तार हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ भने साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ । सडक डिभिजन कार्यालय हेटौंडाले सडक सिमामा निर्माण गरिएका भौतिक संरचना हटाउन सूचना निकालेसंगै सो विषयले निकै चर्चा पाएको छ । सडक विस्तारका लासिग मुख्यतः हेटौंडाको रातोमाटेदेखि राप्ती पुलसम्म समस्या रहेको छ ।
सडक विस्तारमा संघीय सरकारको चासो कम हुनु र अदालती प्रक्रियाका कारण यो योजना अलपत्र अवस्थामा रहेको थियो । हेटौँडा बजारबाट पश्चिमतर्फ राप्ती पुल पारी हेटौँडा–११ थानाभ¥याङदेखि मनहरी गाउँपालिकाको लोथरसम्म (करिव ४० किलोमिटर) सडकमा २५ मिटर विस्तार गर्न कुनै अवरोध छैन । ती स्थानमा सडक सीमा क्षेत्रको अवरोध हटिसकेका छन् भने हेटौँडा–१५ रातोमाटेदेखि बाराको अमलेखगञ्ज–पथलैयासम्म पनि बिना अवरोध सडक विस्तार हुने अवस्था छ ।
घनाबस्ती र मकवानपुरको मुख्य व्यापारिक केन्द्र रहेको हेटौंडाको व्यवसायी व्यवस्थापनको विषयले सडक विस्तारमा समस्या पार्दै आएको छ । पछिल्लो समय हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि मकवानपुरका प्रमुख राजनीतिक दलहरु एकढिक्का बनेका छन् । मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु हेटौँडा बजार क्षेत्रको सडक विस्तारमा सहयोग गर्ने पक्षमा उभिएका छन् । व्यवसायी तथा वास्तविक पीडितहरूको व्यवस्थापन गर्दै सडक विस्तार गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयासम्म र चितवनको नारायणगढसम्म बाटो विस्तार भइसकेकाले मकवानपुरमा मात्रै रोक्न सम्भव नभएको भन्दै विकसित हेटौँडा निर्माण अभियानमा अघि बढ्नुपर्ने उनीहरुको धारणा रहेको छ । राज्यले कुनै पनि नागरिकहरुलाई सुकुम्बासी बनाउन नहुने भन्दै तथ्याङ्क संकलन गरी मुआब्जाको व्यवस्था गर्न उनीहरुको भनाई छ ।
राजमार्ग क्षेत्रको सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रका ५०० बढी पक्कीकच्ची घरहरु भत्किने भएको छ । राजमार्गको रातोमाटेदेखि राप्ती पुलसम्मको सडक दायाँबायाँमा गरेर कुल ५३१ घरटहरामा क्षती हुने हेटौंैडा उपमहानगरपालिकाले जनाएको छ ।
सडक विस्तारका लागि उपमहानगरपालिकाले केहीदिन अघि प्रारम्भिक रुपमा तयार पारेको तथ्याङ्क अनुसार हेटौंडाको रातोमाटेदेखि राप्ती पुलसम्ममा सडकको दायाँतर्फ २३४ र बाँयातर्फ २९७ वटा घरहरु भत्किने देखिएको हो । उपमहानगरपालिकाका अनुसार सो सडक खण्डमा परेका अकिांश घरहरुको पूर्णभाग र केही घरहरुको आंशिक भागमा क्षती पुग्ने तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार हालको हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा–८ र ९ को सिमाना हनुमान गेटसम्मको सडक खण्डको दायाँतर्फ २४ र बाँया तर्फ ९१ वटा गरी जम्ममा ११५ वटा घरटहरामा सडक विस्तारको क्रममा क्षती पुग्ने भएको छ । सो खण्डको हेटौंडा–१५ को दायाँबायाँमा केही बस्तीहरु रहेका छन् भने हेटौंडा–८ तर्फ औद्योगिक क्षेत्रको भुभाग पर्छ भने हेटौंडा–९ तर्फको खण्डमा बाक्लो बस्ती रहेको छ ।
त्यस्तै हनुमान गेटदेखि कर्रापुल सम्मको खण्डमा १२२ घरहरुमा क्षती पुग्ने देखिन्छ । हेटौंडा–८ र ९ मा पर्ने सो खण्डमा पनि ८ तर्फ केही उद्योगहरु रहेकाले ४१ वटा मात्र घरटहरा पर्दछन् भने हेटौंडा–९ तर्फ ७१ वटा घरहरु पर्दछन् । सो खण्डमा २०५८ मा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगले बाढी पहिरो पीडितहरुको व्यवस्थापनका लागि लालपुर्जा वितरण गर्दै बस्ती बस्न दिएको थियो ।
त्यसैगरी कर्रा पुलदेखि उत्तर तर्फ हेटौंडा बजार क्षेत्रको कोर एरिया पर्दछ । मुख्यतः हेटौंडा–४ र हेटौंडा–१० नम्बर वडामा पर्ने सो कर्रादेखि सुमार्गी कम्प्लेक्ससम्मको खण्डमा विभिन्न व्यवसाय सहित मानव वस्ती रहेको छ । सो खण्डको दायाँबायाँ तर्फ कुल ११२ वटा घरहरु पर्दछन् । सडक विस्तारको क्रममा सो खण्डको हेटौंडा–४ सुमार्गी कम्प्लेक्स तर्फ ७६ र हेटौंडा–१० फरेष्ट्रि क्याम्पस तर्फ ३६ घरहरु पर्दछन् । सो खण्डको हेटौंडा–१० तर्फ क्याम्पस र तत्कालिन राजपरिवारहरुले प्रयोग गर्दै आएको भवन रहेको छ । उक्त भवनलाई हाल रानी दरवार नामबाट चिनिन्छ भने उक्त दरवारमा राजारानी भ्रमणमा आउने र बस्ने गर्दथे । हाल सो क्षेत्र नेपाल ट्रष्टको अधिकार क्षेत्रमा रहेको छ भने नेपाली सेनाको क्याप बस्दै आएको छ ।
सडक विस्तारको क्रममा सुमार्गी कम्प्लेक्सदेखि उत्तरतर्फ बुद्धचोक सम्म ९७ वटा घरहरुमा क्षती पुग्ने देखिन्छ । सो खण्डमा हेटौंडाको मुख्य बजारहरु क्षेत्र अवस्थित रहेको छ । उक्त खण्डको हेटौंडा–४ तर्फ ४६ र १० तर्फ ५१ घरटहरामा क्षती पुग्ने भएको छ । बुद्ध चोकबाट सो राजमार्ग पश्चिम तर्फ मोडिन्छ । सो खण्डमा हेटौंडा–१ र १० नम्बर वडा रहेको छ । बुद्ध चोबाट चाइना गेटसम्मको खण्डमा हेटौंडा–१ तर्फ २८ र हेटौंडा–१० तर्फ ३५ वटा गरी ६३ वटा घरहरुमा क्षती पुग्ने तथ्याङ्कमा उल्लेख छ । उक्त खण्डको हेटौंडा–१ तर्फ हेटौंडा अस्पताल अवस्थित रहेको छ भने १० तर्फ नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय र हेभिइक्युपमेन्ट कार्यालय रहेको छ ।
चाइना गेटबाट पश्चिम तर्फ राप्ती पुलसम्मको हेटौंडा–१ र १० को अन्तर्गत २२ वटा घरटहरा सडक सिमामा पर्दछन् । २०७३ सालमा पहिलो पटक सडक विस्तारको क्रममा सो खण्डमा डोजर प्रयोग गरि घरटहरा हटाइएको थियो । जसकारण सो खण्डको हेटौंडा १ तर्फ ९ र हेटौंडा १ण् तर्फ १३ घरहरु पर्दछन् । सोही खण्डमा सडक डिभजिन कार्यालय हेटौंडाको कार्यालय समेत अवस्थित रहेको छ । राप्ती पुलबाट पश्चिम तर्फ भएर जाने उक्त राजमार्गमा त्यस उता सडक विस्तारमा कुनै समस्या रहेको छैन ।
हेटौंडा बजार क्षेत्रको बाटो विस्तारका क्रममा रातोमाटेदेखि राप्ती पुलसम्मका खण्डमा व्यवसाय गर्दै आएका करिव ६०० व्यवसायी प्रभावित हुने उपमहानगरपालिकाको तथ्याङ्क रहेको छ ।






