हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघले बैंकको चर्को व्याजको विरुद्ध विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । विभिन्न व्यवसायिक संगठनहरुको सहभागितामा फागुन २१ गतेबाट ३० गतेसम्म विरोधका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको हो।
आर्थिक मन्दीको कारण व्यवसाय टिकाउन कठिन भइरहेको परिस्थितिमा बैंकहरुले व्याजदर घटाउनुको सट्टा बढाइरहेकाले उद्योगी/व्यवसायीहरु विरोधमा उत्रिएको जनाएका छन् । फागुन २१ गते पल्पसा परिसरमा जम्मा भई मकवानपुर उद्योग वाणिज्य संघका ¥यालीसहित हेटौंडाका बैंकहरुमा गई चर्को व्याजदर घटाउन ज्ञापन पत्र दिई विरोध जनाइएको छ ।
विरोध कार्यक्रम अन्तर्गत फागुन २४ गते दिउसो १ बजे बुद्ध चोकमा बागमती प्रदेश स्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना, फागुन २५ गते बैंकहरुमा विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना कार्यक्रम, फागुन २६ गते बैंकहरुमा विहान ११ बजेदेखि १ बजे सम्म २ घण्टा धर्ना कार्यक्रम, फागुन २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोवार बन्द गराउने र फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने रहेको छ ।






