विद्युतीय माध्यमबाट तासिर स्कूलले गर्यो निर्वाचन

हेटौंडा, २१ असार/मकवानपुर जिल्लामा पहिलो पटक विद्युतीय माध्यमबाट निर्वाचन भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा अवस्थित तासिर इङ्लिस सेकेण्डरी स्कूलले कागजी मतपत्रलाइ पूर्णरुपमा विस्थापित गरी विद्युतीय माध्यमको प्रयोगद्वारा हेडबोय, हेडगर्ल र हाउस क्याप्टेनको चुनाव सम्पन्न गरेको हो ।
मतदान सम्पन्न भएको ५ मिनेटमै नतिजा समेत प्रकाशित गरिएको थियो ।

ADVERTISEMENT

विद्यालयका प्रिन्सिपल बिनोद थपलियाले विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिको प्रयोगद्वारा पनि विश्वसनिय, सरल र मितव्ययी निर्वाचन गर्न सम्भव छ भनी जानकारी र अभ्यास गराउन यसपटक विद्यालयले निर्वाचनमा कागजी मतपत्रमा रहेको चुनाव चिन्हमा छाप लगाइ गरिने मतदान प्रणालीलाई पूर्णरुपमा विस्थापन गरिएको बताए । ‘विद्युतीय उपकरणको प्रयोगद्वारा पूर्ण सुरक्षाका मापदण्ड अपनाइ निर्वाचन सम्पन्न गराईएको छ’ उनले भने । यसरी निर्वाचन गराउँदा समयको बचत, मत बदर हुने सम्भावना शून्य हुने, कम जनशक्तिको परिचालनबाट निर्वाचन हुन सक्ने, मतदान पश्चात मत गणना गर्दा लामो समय कुर्नु नपर्ने, मत परिणामको तथ्यांक सरल, सुरक्षित हुने जस्ता थुप्रै फाइदाहरु भएको प्रिन्सिपल थपलियाले बताए ।

निकट भविष्यमा नेपालले प्रयोगमा ल्याउने यस विधिका बारेमा विद्यालयका स–साना नानी बाबुहरुलाई पहिले नै अभ्यस्त गराइएको उनले बताए । नेपालमा उपलब्ध हुने साधन स्रोतले सम्भव भएसम्म तासिर स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक प्रविधिलाइ अभ्यास गर्ने वातावरण उपलब्ध गराउने आफ्नो उदेश्य रहेको उनले बताए । निर्वाचनमा निर्वाचन आयुक्तका रुपमा विद्यालयका सामाजिक विषयका मावि शिक्षक रविन्द्र कार्कीले जिम्मेवारी सम्हालेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठेबहादुर कार्कीको अध्यक्षता रहेको थियो ।

निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत ४११ जनाले मतदान गरेका थिए । निर्वाचनमा हेड बोय कक्षा ९ का छात्र प्रतीक गौतम निर्विरोध विजय भएका थिए । हेड गर्लका लागि कक्षा ८ का छात्रहरु स्प्रीया अर्याल , स्मृति पाठक र सिमोन भट्टराइले उम्मेदवारी दिएका थिए । जसमध्ये २३७ मत ल्याई सिमोन भट्टराई बिजयी भएकी छिन् । त्यस्तै रातो सदनको क्याप्टेनका लागि कक्षा ९ की सृष्टि राना मगर, कक्षा ९ कै प्रबेश बास्तोला र कक्षा ८ की पुष्पा काÇलेले उम्मेदवारी दिएका थिए । यस पदका लागि खसेको जम्मा १०१ मतमध्ये ६७ मत प्राप्त गर्दै प्रवेश वास्तोला विजयी भएको छ । हरियो सदनको क्याप्टेनका लागि कक्षा ८ का स्वर्णिम महत, अनुश्का अर्याल र निदृता सिलवालले उम्मेदवारी दर्ता गराएकोमा जम्मा खसेको ११० मतमध्ये ७१ मत प्राप्त गरी निदृता सिलवाल बिजयी भएकी थिईन् ।

निर्वाचनमा निलो सदनको क्याप्टेनका लागि कक्षा ८ का समृद्ध जंग थापा, सृष्टि दवाडी, प्रविण नेपाल र विश्वास मैनालीले उम्मेदवारी दिएका थिए । उक्त पदका लागि खसेको १०३ मतमध्ये ६३ मत प्राप्त गरी समृद्द जंग थापा बिजयी भएका छन् । साथै पहेँलो सदनको क्याप्टेनका लागि कक्षा ९ का रिजन चौलागाईं र कक्षा ८ को करुण गौतम मध्ये ६४ मत ल्याई करुण गौतम विजयी भएका छन् । उक्त पदका लागि जम्मा ९७ मत खसेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *