आजबाट एसइइ परीक्षा सुरु, मकवानपुरमा ६ हजार परीक्षार्थी सहभागी हुँदै

हेटौंडा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज शुक्रबारबाट शुरु हुँदैछ । मकवानपुर जिल्लामा तोकेको २५ वटा परीक्षा केन्द्रबाट नियमित, ग्रेडबृद्धि र प्राविधिक तर्फ ६ हजार ३ सय ३३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदै छन् । चैत १७ गतेबाट शुरु भई एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

ADVERTISEMENT

जिल्लाको परीक्षाको लागि २५ जना केन्द्राध्यक्ष, ४८ सहायक केन्द्राध्यक्ष, ३ सय १७ जना निरिक्षक, ६७ जना परीक्षा सहायक, १ सय २७ जना कार्यालय सहयोगी र ३ सय ७५ जना सुरक्षाकर्मी गरी ९ सय ५९ जना जनशक्ति खटिने शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कमा रहेको छ ।२५ वटा परीक्षा केन्द्र अन्तर्गत बागमती गाउँपालिकामा १, हेटौंडामा १४, मनहरीमा २, थाहानगरमा ३, मकवानपुरगढीमा १, बकैयामा २, भीमफेदीमा १ र इन्द्रसरोवरमा १ परीक्षा केन्द्र तोकिएको हो ।

राक्सिराङ र कैलाश गाउँपालिकामा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले जानकारी दिए । बागमतीको जनता माध्यमिक विद्यालय, मनहरीको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र महेन्द्र किरण माध्यमिक विद्यालय, बकैयाको महेन्द्र माध्यमिक विद्यालय र बुद्व माध्यमिक विद्यालय, थाहा नगरपालिकाकोमच्छेनारायण माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका जाल्पादेवी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

ADVERTISEMENT

यस्तै हेटौंडाको वंशगोपाल मावि चौघडा, आधनिक राष्ट्रिय मावि, बालज्योति मावि पिप्ले, ज्ञानदा मावि, भुटनदेवी मावि, सिद्धार्थ मावि, जीएस निकेतन विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, प्रगति मावि, अमर मावि, चन्द्रोदय मावि, महेन्द्रकिरण मावि, निर्मल मावि र जनप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका थिए ।

गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेको जिल्ला विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ । परीक्षा तालिका अनुसार पहिलो दिन चैत १७ गते अनिवार्य अङग्रेजी, चैत १९ अनिवार्य गणित, चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य विज्ञानको परिक्षा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *