हेटौँडा, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई बहुमतका आधारमा स्वीकृत गरेको हो।
प्रदेश सरकारको बजेटमा देखिएको विवाद समाधान गर्न दलहरूबीच ८ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार बजेटसँगै पूरक प्रस्ताव संसदमा दर्ता गरिएको थियो। उक्त पूरक प्रस्तावलाई पनि विनियोजन विधेयकको भाग बनाउने प्रस्ताव सभाले पारित गर्यो।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्ताव संसदमा पेश गरेका थिए। उनले आगामी आर्थिक वर्षमा प्रदेश सरकारका सेवा तथा कार्यक्रमहरू सञ्चालन गर्न प्रदेश सञ्चित कोषबाट विनियोजनको प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख भुवनकुमार पाठकले उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दा सत्तारूढ दलका सांसदहरूले समर्थन जनाए भने विपक्षी दलले असहमति जनाएका थिए। बहुमत समर्थनका आधारमा सभामुख पाठकले बजेट पारित भएको घोषणा गरे।
यसअघि आइतबार र सोमबार बिहानको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका थिए। त्यसमध्ये सात जना सांसदहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए। ती प्रस्तावहरू सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाईं, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुले राखेका थिए। सांसद आशा लामा र कुमारी तामाङको संयुक्त कटौती प्रस्ताव भने संसदमा प्रस्तुत हुन सकेन।
सभामुखले प्रस्तुत भएका कटौती प्रस्तावहरू निर्णयार्थ पेस गरेका थिए, जसलाई बहुमतले अस्वीकृत गरेको थियो।
बजेटमाथिको मूल छलफल असार १२ गतेबाट सुरु हुने कार्यतालिका तय भए पनि दलहरूबीच मतभेदका कारण बैठक पटक–पटक स्थगित हुँदै असार २० गतेबाट मात्र औपचारिक छलफल सुरु भएको थियो।
मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्री काफ्लेसहित विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।
यसैबीच, बजेट आइतबार पारित गर्ने तयारी भए पनि छलफलमा भाग लिने सांसदहरूको संख्या बढेपछि कार्यसूची सोमबार सारिएको थियो।







