हेटौंडा, हेटौंडामा भएको पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ। बुधवार भएको फाइनलमा ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो।
मनाङको जीतमा रोशन राना मगर नायक बने। उनले खेलको ७८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनी नै खेलको म्यान अफ दी म्याच समेत घोषित भए। उनले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे। मनाङले एपिएफलाई र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।
मनाङले उपाधिसँगै नगद १५ लाख र उपविजेता शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ। मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी हुँदै मनाङ मर्स्याङ्दी क्लबका कप्तान तथा गोलरक्षक दीप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल प्राप्त गरेका छन्। हेटौँडा स्कुल अफ म्यानेजमेण्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल उनले प्राप्त गरेका हुन्। प्रतियोगिताको तेस्रो संस्करणदेखि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिँदै आएको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका स्थानीय तहहरुको सहयोगमा भएको प्रतियोगितामा एउटा विदेशी सहित १२ टोलीको सहभागिता रहेको थियो। विजेता, उपविजेता, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामा, सल्लाहकार पुरणबहादुर जोशी, पूर्व संयोजकद्वय प्रताप विष्ट र हरिबहादुर महत लगायतले पुरस्कार वितरण गरेका हुन्। हेटौँडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गतेबाट यो प्रतियोगिता सञ्चालन भएको हो।






