हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले सौन्दर्य शिक्षा अध्यापन गराउने भएको छ । सौन्दर्यको क्षेत्रका काम गरीरहेका र अभ्यस्त भएकाहरुसँगको सहकार्यमा उपमहानगरले हेटौंडामै शिक्षा अध्यापन गराउने भएको हो ।
सोमबार हेटौंडामा आयोजित सौन्दर्यकर्मी संगठन नेपालको संयुक्त प्रथम जिल्ला तथा नगर अधिवेसनमा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले शिक्षालाई व्यवहारीक बनाउनका लागि अध्यापनको तयारी भएको बताएकी हुन् । उनले भनिन् ‘ हामिले सौन्दर्य शिक्षालाई पहिलो बर्षका लागि सिद्धार्य माविबाट सुरु गर्ने छौं ।’ अध्यापनका लागि सबै तयारी पुरा भैसकेको भन्दै अध्यापनसँगै रोजगारीको अवसर श्रृजना गराउनका लागि उपमहानगरले सौन्दर्यशिक्षालाई पहिलो पटक सुरु गर्न लागेको र त्यसको तयारी भैरहेको बताइन् ।
पहिलो बर्ष सिद्धार्थ बाट सुरु गर्दै त्यसलाई बिस्तार गर्दै नगरका सामुदायीक बिद्यालयहरुमा लैजाने लक्ष्य रहेको उनले बताइन् । ‘हामीले आउँदो शैक्षिक सत्र २०८१ बाट शिक्षालाई अघि बढाउँने तयारी गरेका छौं, कक्षा ९ बाटै सौन्दर्य शिक्षालाई अघि बढाउँदै लगिने छ ’ उनले भनिन् । बिद्यालय व्यवस्थापन समितिलाई शिक्षाका लागि आवश्यक प्रयोगात्मक हल तयारीको जिम्मेवारी दिइसकेको बताइएको छ । सरकारले कक्षा ९ देखि १२ सम्म सौन्दर्य शिक्षालाई शैक्षिक पाठ्यक्रममा समाबेश गरेर अध्यापन गराउने तयारी गरे अनुसार उपमहानगरले कार्यान्वयन गर्न थालेको हो ।
आर्थिक रुपमा महिलाहरु सक्षम नहुँदा बिभिन्न समस्यामा पर्ने भएकाले उपमहानगरले रोजगारी श्रृजना गर्ने उद्देश्य अनुरुप सौन्दर्य शिक्षालाई अघि बढाएको नगर प्रमुख लामाले बताइन् । कार्यक्रममा नगर प्रमुख लामाले जिल्ला तथा नगरमा व्यवसायीक रुपमा काम गर्दै आएका सौन्दर्यकर्मीहरुले गरेको कामबाट मान्छेमा सकारात्मक उर्जा थप्ने बताइन् । बिभिन्न खालका समस्या व्वयहोर्दै हिडेका ग्राहकहरु आउँदा उनिहरुलाई पनि सकारात्मक सन्देश दिने भुमिका सौन्दर्यकर्मी सँग रहने उनले बताइन् ।
उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि उपमहानगरले काम गरीरहेको बताइन् । उपहानगरको सहयोगमा तालिम लिएका नगरका बिभिन्न वडाका ५१ जना महिलाहरु ढाकाको कपडा बनाएर आर्यआर्जनमा लागेको भन्दै दिगो आर्यआर्जनको पाटोमा लाग्न चाहनेले योजना बनाएर आउँन आग्रह गरीन् । आर्थिक रुपमा सबल हुन नसक्दा महिलाहरु निकै समस्यामा परेको भन्दै उनले उत्पादनसँग जोडिन सबैलाई आग्रह गरीन् ।
सौन्दर्यकर्मी संगठन मकवानपुरका अध्यक्ष जुनु लामाको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष बिष्णु लम्साल, अनेम संघ मकवानपुरका अध्यक्ष गायत्री सुवेदी, सौन्दर्यकर्मी संगठन नेपालका केन्द्रीय अध्यक्ष अस्मिता श्रेष्ठ, प्रदेश अध्यक्ष सुष्मा तामाङ, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरणमान बल, युवा संघ रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सौन्दर्यकर्मी संगठन बागमती प्रदेशका सहसचिब सपना श्रेष्ठ लामिछाने, संगठनका नगर अध्यक्ष रिना घिसिङ लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।






