हेटौंडा, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यकर्ताहरु संगठन निर्माण र सुदृढिकरण तर्फ अघि बढ्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) को आयोजनामा बिहीबार हात्तिसुँढेमा सम्पन्न कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेताद्वय डिना र बानियाँले चुनावका विषयमा देखिएका समस्याहरुलाई व्यवस्थापन गर्दै संगठन विस्तारमा अघि बढ्नुपर्ने बताएका हुन् । जनताका समसया समाधान र आर्थिक उपार्जनको विषयमा पार्टीले लिएका नीति तथा कार्यक्रम सघाएर अघि बढ्न उनहरुले आग्रह गरे ।
कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को क को भेला भएको हो ।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को (क) का प्रदेश सभापति सुशान्तकुमार श्रेष्ठको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डिना र बानियाँले जवाफ दिएका थिए । अन्तरक्रिया कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति धर्मराज लामिछाने, महासमिति सदस्य जयराम लामिछाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जन, गढी गाउँपालिका सचिव आईतसिं लो, बकैया ७ का वडासभापति पोषबहादुर घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






