प्रशासनबाटै राहदानी र परिचयपत्रको निःशुल्क फारम

हेटौंडा, राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउन स्टुडियो र साइबरबाट फारम भर्दा महंगो शुल्क तिर्न बाध्य सर्वसाधारणको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमै निःशुल्क फारम भर्न सुरु गरिएको छ ।

स्टुडियो तथा साइबर सञ्चालकले राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आएकाहरुसँग महंगो शुल्क लिने गरेको गुनासो पश्चात बिहीबारबाट प्रशासन कार्यालयमै निशुल्क सेवा सुरु गरिएको बताइएको छ । अब राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आएकाहरुले सिधै प्रशासन कार्यालयमै पुगेर निशुल्क सेवा लिन सक्ने भएका छन् ।

‘टाढाबाट पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आएकाहरुले महंगो रकम तिर्नुपरेको गुनासो आएपछि हामीले छुट्टै कर्मचारीको व्यवस्था गरेरै बिहीबारबाट प्रशासन कार्यालयबाटै यो सेवा सुरु गरेका हौं’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने, ‘स्थानीय तहबाटै राहदानी र परिचयपत्रको फारम भर्नसक्ने निर्णय गरेका थियौं तर सेवा सञ्चालन हुन नसकेपछि प्रशासनबाट निशुल्क फारम भर्ने सेवा दिन सुरु गरेका हौं ।’ विना झण्झट, विना शुल्क प्रशासनबाटै यो सेवा लिन सकिने उनले जानकारी दिए । फारम भर्नुका साथै कुनै आवश्यक निवेदन समेत निःशुल्क लेखिदिने प्रवन्ध मिलाएको पाण्डेले बताए ।

‘प्रशासन कार्यालयकै प्रांगणमा बोर्ड राखेर सेवा सुरु गरेका छौं । नागरिकका सेवा चुस्तदुस्त र सहज बनाउने उद्देश्यले यसो गरिएको हो’, प्रजिअ पाण्डेले थपे, ‘अहिले दुईजना कर्मचारी रहेका छन्, अझै दुईजना कर्मचारी थप्ने योजनामा छौं ।’ आगामी जेठदेखि जुनदिन फारम भर्यो त्यही दिन राहदानी र राष्ट्रिय परिचयपत्रको पालो आउने व्यवस्था गर्ने तयारीमा रहेको उनले सुनाए । यो सेवालाई दिगो रुपमा अघि बढाइने उनको भनाई छ ।

पहिलो दिन बिहीबार ७ जनाको निशुल्क निवेदन लेख्नुका साथै करिब ५० जनाको राष्ट्रिय परिचयपत्र र राहदानीको फारम भरिएको जानकारी दिइएको छ । नागरिक सहायत कक्ष कोठा नम्बर २० बाट निःशुल्क राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा सुरु गरिएको हो । स्टुडियो तथा साइबरबाट फारम भर्दा दुईसय देखि एकहजार रुपैयाँसम्म शुल्क लिने गरेको
सर्वसाधारणको गुनासो रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *