सपनाविनाको जीवनयात्रा


बीस वर्षको उमेरमा टेक्दै गर्दा युवायुवतीहरूले आफ्नो जीवनको सपना देख्न सुरु गरिसकेका हुन्छन् । जीवनमा आफूले देखेको सपनालाई यथार्थतामा बदल्न गन्तव्यको एउटा मानचित्र कोरेर त्यसतर्फ आफ्ना पाइलाहरू अगाडि बढाउन प्रयासहरू गरिरहेका हुन्छन् तर मैले जीवनमा यो गर्छु, त्यो गर्छु, ठुलो मान्छे बन्छु, अनि धैरै पैसा कमाएर धनी बन्छुजस्ता सपनाहरू कहिल्यै देखिनँ; न त त्यसप्रकारको चाहना नै राखेँ । म मात्र आफ्नो जीवनयात्राका घरायसी पाटाहरूलाई मिलाउनैमा आफूलाई केन्द्रित गराइरहेँ र आफ्नो सम्पूर्ण ध्यान आफूले खुब दुःख र मेहनत गरेर पाएको जागिरमा दिँदै लगनशीलताका साथ निरन्तर अगाडि बढिरहेँ ।

त्यस बेला नेपाल राष्ट्र बैंकको प्राथमिकतामा नेपाली मुद्रा बजारबाट भारतीय मुद्राको चलन–चल्तीलाई विस्थापित गर्नु पनि रहेकाले वीरगन्ज शाखा अन्तर्गतका छवटा सटही काउन्टरमै हामी नयाँ सहायक स्तरको कर्मचारीलाई आलो पालोमा खटाइन्थ्यो । पाएको काम र जिम्मेवारीको आधारमा कुनै नयाँ नौलो काम गरेर आफ्नो सीप क्षमता देखाउने अवसर पनि त थिएन । मलाई लाग्थ्यो– लगनशीलता र इमानदारीका साथ अफ्नो काम गरेर जागिरमा उन्नति हुनेछ । साँच्चै त्यतिबेला म भ्रममा रहेछु। लगनशीलता र इमानदारिता मात्र जागिरमा उन्नति हुने मेरो भ्रम त्यतिबेला टुट्यो, जब स्थायी सहायक पदमा जागिर खाएको एक दशक बितिसक्दा पनि मेरो बढुवा हुन सकेन तर मसँगै जागिर खाएका धेरैजसो सहकर्मीहरू बढुवा भएर प्रधान सहायकको पदमा पुगिसकेका थिए ।

नेपाल राष्ट्र बैँकले आफ्नो उद्देश्य प्राप्तिका लागि गर्ने विभिन्न कामहरूमध्ये महŒवपूर्ण कामहरूमा महँगीलाई वाञ्छित सीमाभित्र राख्नु, भुक्तानी (शोधानान्तर) स्थितिलाई देशको पक्षमा राख्न सघाउ पुग्ने गरी मौद्रिक नीति सञ्चालन गर्नु, सरकारको आर्थिक विकासको लक्ष्यलाई सघाउने खालको मौद्रिक नीति तथा वित्तीय नीति अवलम्बन तथा कार्यान्वयन गर्नु, आर्थिक उत्पादन तथा वित्त क्षेत्रहरूको समय–समयमा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदनहरू प्रकाशन गर्नु, विदेशी विनिमय सञ्चिति तथा विनिमय दरको व्यवस्थापन गर्नु सरकारको आर्थिक तथा वित्तीय सल्लाहकारको रूपमा काम गर्नु आदि पर्दछन् । यसबाहेक नोट छाप्नु तथा वितरण गर्नु, सरकारी कार्यालय, सार्वजनिक संस्था तथा बैंक र वित्तीय संस्थाहरूको खाता सञ्चालन गर्नुका साथै मुद्राविनिमय आदि पर्दछन् तर नेपाल राष्ट्र बैंकको शाखा स्तरमा भने नोटहरूको वितरण सुनिश्चित गर्ने, सरकारी बैंक र संस्थानहरूको खाता सञ्चालन गर्ने र भारतीय रूपैंयाको विनिमय गर्ने आदिजस्ता काम नै मुख्य रूपमा गरिन्थ्यो । केन्द्रीय कार्यालय अन्तर्गत एउटा अनुसन्धान इकाइ पनि शाखा स्तरमा हुन्थ्यो, जसले बजार मूल्य सङ्कलन, विभिन्न आर्थिक तथ्याङ्क सङ्कलन तथा सर्वेक्षणहरू पनि गर्ने गर्दथ्यो ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय स्तरबाट सम्पादन हुने मुख्य र महत्वपूर्ण अनुसन्धानात्मक र विकासात्मक कामहरू र शाखा स्तरबाट सम्पादन हुने दैनिकी कामहरूमा संलग्न कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनको अङ्कहरूमा निकै फराकिलो अन्तर हुने गर्दथ्यो । बढुवा प्रक्रियामा शैक्षिक योग्यता, अनुभव, तालिम र कार्यसम्पादनमा दिइएको अङ्कमध्ये शैक्षिक योग्यता र कार्य सम्पादनमा अत्यधिक बढी अङ्क तथा अनुभव र तालिममा न्यूनतम अङ्कभार हुने गर्दथ्यो । शाखास्तरमा काम गर्नु र शैक्षिक योग्यता एस.एल.सी. मात्र हुनु मेरो लामो अवधिसम्म पनि बढुवा नहुनुको प्रमुख कारण भएको कुरा मैले धेरैपछि मात्र थाहा पाएको थिएँ । त्यसपछि मेरो बढुवाको अवरोध बनिरहेको मेरो न्यून शैक्षिक योग्यतालाई बढाउने अठोट मैले तत्काल गरेँ र उच्च शिक्षाका लागि कलेज भर्ना हुने निर्णय गरँे तर अफसोचको कुरा के थियो भने त्यतिबेला वीरगन्जमा एकमात्र कलेज थियो र त्यहाँ दिउँसो मात्र कक्षाहरू सञ्चालन हुने गर्दथ्यो । जागिरे भएकोले दिउँसो कक्षा लिन सक्ने मेरो लागि असम्भव भएकै कारण मैले बाध्यतावश सीमावर्ती रक्सौल स्थित रात्री कलेजमा भर्ना हुनुपरेको थियो । पटना विश्वविद्यालय अन्र्तगतको उक्त कलेजमा अध्ययन पूरा गरी परीक्षा दिनको लागि बेतिया स्थित परीक्षा केन्द्र जानुपरेको थियो । वीरगन्ज शाखाकै एकाउन्टेन्ट कृष्णप्रसाद उपाध्यायसँगै नोगजा श्यामकिशोर सिंहको बेतिया स्थित दिदीको घरमा बसेर आई.ए. परीक्षा दिँदै गर्दा र पछि पास गर्दासम्म एक प्रकारको पढाइमा लत लागिसकेको थियो मलाई । पछि पटना विश्वविद्यालय गई आफ्नो मार्कसीट, प्रमाणपत्र र माईग्रेशन सर्टिफिकेटहरू ल्याएर दुई वर्षपछि त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीको रूपमा मैले मानविकी संकायतर्फको स्नातक पनि पास गरेँ ।

वि.सं. २०३७ सालतिर म पर्सा र चितवनको सीमानामा पर्ने ठोरी भन्सार स्थित नेपाल राष्ट्र बैंकको सटही काउन्टरमा कार्यरत थिएँ । भारतको नरकटियागन्ज रेल्वे जक्सनबाट भिखना ठोरी स्टेशन हुँदै भारतमा काम गर्ने नेपालीहरूको चितवन पस्ने नाकाको रूपमा ठोरी भारत र नेपालको सिमावर्ती क्षेत्र थियो । त्यसैले पनि यो काउन्टर भारतीय रूपैयाँको प्रमुख सङ्कलन काउन्टरको रूपमा रहेको थियो । यसै बेला वीरगन्ज उपमहानगर वडा नं. १४ श्रीपुर स्थित त्रिमूर्ति सिनेमा अगाडि १३ धुर जग्गा खरिद गर्ने प्रस्ताव आएको थियो । यस बेला मेरो उमेर २८ वर्षको भइसकेकोले मैले विवाह गर्नुपर्ने चर्चा पनि चल्न थालेको थियो । बिहे गरेपछि नवदुलही र आमासहित छुट्टै आफ्नो घरमा बस्नुपर्छ भन्ने लागेर अफिसबाट एक वर्ष बराबरको कर्मचारी सापटी र सञ्चयकोष आदि झिकेर उक्त श्रीपुरको जग्गा खरिद गरेको थिएँ ।

ठोरी काउन्टरमा ६ महिना काम गरेपछि शाखा कार्यालयमा मेरो सरुवा भयो र त्यसपछि म घरको नक्सा आदि बनाउने काममा जुटेको थिएँ । नगरपालिकाबाट नक्सा पास भएपछि घरकर्जा सापटीको लागि केन्द्रीय कार्यालयमा निवेदन दिएँ । त्यतिबेला तलब त्यति धेरै नभएकोले पहिले लिएको कर्मचारी सापटी कट्टा गरी पाएको पैसाले जसोतसो चार कोठाको घर बनाएको थिएँ । त्यस बेला सिमेन्टको बजारमा अभाव थियो र आफूसँग पैसा पनि नभएकोले घरको भित्ता सुर्किचुनाको मसलाले जोडाइ गरेको र छत पनि आर.वि.सि. (फलामे डन्डी, इँट, सिमेन्ट)ले गर्नुपरेको थियो ।

यसै बीच, एक जना नातेदारले हेटौँडाकी केटीसँग मेरो विवाहको प्रस्ताव ल्याए । केटीको नाममा एउटा खामबन्दी चिठ्ठी दिँदै हेटौँडा गई उक्त चिठ्ठी दिने बहानामा केटी हेर्न मलाई हेटौँडा पठाएका थिए । उनले बताए अनुसारको लोकेशनमा त पुगेको थिएँ तर अन्य घरको चोकमा पुगेछु। घरको चोकमा अन्दाजी २० वर्षकी एक सुन्दर युवतीलाई देखेर यही केटी होली भन्ने लागेर म उनी नजिक पुगी ‘यो तिम्रो चिठ्ठी वीरगन्जबाट ल्याएको’ भन्दै दिएको थिएँ । ती नवयुवती त्यतिवेला पूजा भाँडाहरू माझ्दै थिइन् । उनले मबाट त्यो चिठ्ठी लिएर नाम ठेगाना पढ्दै मेरो होइन पल्लो घर जानुस् भनेकी थिइन् । म केही निराश भएँ । यी केटी मन परेको थियो तर अब अर्को घर जानुप¥यो । त्यहाँ कस्ती केटी भेट होलिन् भनेजस्तो भयो । पल्लो घर जानु त प¥यो, नगई त्यसै फर्कन पनि त मिलेन । जसोतसो पल्लो घर गएर उक्त नाम ठेगाना भएकी युवतीलाई भेटी चिठ्ठी उनको हातमा दिएर फर्केको थिएँ ।

अब मलाई पहिले देखेकी युवतीप्रति आकर्षण बढेकोले वीरगन्ज गई बिहेको कुरा चलाउने नातेदारलाई पहिलो घरकी ती युवतीसँग कुरा चलाइदिनुभए म बिहे गर्छु, चिट्ठी दिएर आएको केटीसँग हैन भनिदिएको थिएँ । संयोगवश मैले बताएको लोकेशन र केटीको हुलियाको आधारमा उनले त्यो घर, परिवार र केटी ठम्याउँदै हुन्छ भन्दै त्यहाँ पनि कुरा राख्न सकिने आश्वासन मलाई दिए ।

हेटौँडाका फणिन्द्रराज रिजालका चारवटी छोरीहरूपछि पाँचौँ सन्तानको रूपमा छोरा र छैठौँमा कान्छी छोरी निलम थिइन् । चार जना छोरीहरूको विवाह भइसकेकोले छोराको बिहे गरी बुहारी भित्र्याएर मात्र कान्छी छोरी निलमको विवाह गर्ने भनी बसेका रहेछन् तर मेरा लमीले मेरो स्वभाव, जागिर र परिवारको बखान गर्दै कान्छी छोरीको विवाह प्रस्ताव गर्दा राम्रो केटाको प्रस्ताव आएकोले छोरीकै पहिले विवाह गर्न मन्जुर भई केटीका बुवाले छोरा र साँहिला ज्वाइँलाई नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा मलाई हेर्न पठाएका थिए । संयोगवश म फिल्डको काममा बाहिर गएको बेला परेको रहेछ । उहाँहरूले चिनेको एक जना राष्ट्र बैंककै सिनियर स्टाफलाई मेरो बारेमा सोधपुछ गर्दा उनले आँखा चिम्लेर आफ्नी बहिनीलाई सुदर्शनसँग विवाह गरिदिए हुन्छ भनिदिएका रहेछन् । केही दिनपछि केटीपक्ष कुरा छिन्न आउने रे भन्ने खबर मैले पाएँ ।

म भने अलि सिरियस भएँ । मैले हेरेको र मन पराएकै केटीसँगै मेरो बिहेको टुङ्गो लाग्न थालेको हो कि होइन भन्ने मनमा शङ्का लाग्न थाल्यो । प्रत्यक्ष रूपमा केटी, केटीको परिवार र म बसेर छलफल अगाडि बढेको होइन । यो र त्यो लोकेशन र घरको आधारमा अगाडि बढेको यो प्रस्ताव मैले हेरेकै घर र केटीसँग नै हो भनी ठोकुवा गर्ने आधार मैले पाइनँ । एकपल्ट केटी हेर्नुपर्छ भनिदिएको थिएँ— सबै जिल्ल परे । पहिले आफैले केटी हेरेर, मन पराएर, त्यो केटीसँग विवाह गर्छु भन्ने तर अहिले फेरि केटी हेर्छु भन्नेजस्तो कुरा गर्न थाले । मैले हेरेकै केटीसँग कुरा बढेको हो भनी म आश्वस्त हुन चाहन्छु भनेर मैले भनेँ ।

सायद उनीहरूले पनि मेरो शङ्काको आधार ठिकै देखेर एक दिन हेटौँडामा केटीको घरमा कुरा गर्ने नातेदारले मलाई लगिदिनुभयो । केटीसँग प्रत्यक्ष भेटघाटपछि कुरा छिन्ने दिनको निधो लगाएर वीरगन्ज फर्केर विवाहको तयारीमा जुटेँ । वि.सं. २०३८ साल जेष्ठ ८ गते निलमसँग मेरो विवाह भएको केही दिनभित्रै आमालाई लिएर रेशमकोठी, नयाँ वस्ती स्थित दाजुहरूको घरबाट श्रीपुर स्थित आफ्नै घरमा हामी बसाइँ स¥यौँ ।

आफ्नो नयाँ घरमा सरेको एक महिनापछि नै मनसुन वर्षा सुरु भएको थियो । दुर्भाग्यवश छतमा आर.सि.सि ढलान नगरी इट, सिमेन्ट र रड प्रयोग गरेको हुँदा छतमा जमेको पानी इटले सोसेर कोठाको छत मजैले चुहिने भएछ । भर्रखरै बिहेमा पैसाजति सबै खर्च भएर सकिएको अवस्थामा घरमा यस्तो बिजोग सुरु भएको थियो । पानी परेर थामिएपछि माथि छतको पानी फाल्दा पनि छतको इटले सोसेको पानी तल कोठाभित्र तप तप चुहिन्थ्यो । कसैसँग सरसापटी वा सहयोग माग्ने स्वभाव नभएकोले त्यो विपत्ति झेल्नुबाहेक मसँग अरू कुनै उपाय थिएन ।राती पानी परेको बेला झुलमाथि प्लाष्टिक राखेर बीच–बीचमा राती उठी प्लाष्टिकमा जम्मा भएको पानी बाटामा उभाउँदै फालेर सुत्दै गर्नुपरेको अवस्था थियो । साँच्चै नै विचित्र र अनौठो हनिमुन थियो हाम्रो ।

वि.सं. २०४३ साल अर्थात् जागिर प्रवेश गरेको १४ वर्षपछिको कुरा हो, यस बेला म अनुसन्धान इकाइमा रहेर काम गर्दै थिएँ । एक दिन शाखा व्यवस्थापकले मलाई आफ्नो कार्यकक्षमा बोलाएर सीमावर्ती क्षेत्रमा भारतीय रूपैयाँको प्रभावबारे अध्ययन गरी प्रतिवेदन शीघ्र पठाउन केन्द्रीय कार्यालयले निर्देशन गरेको कुरा बताए र त्यतिबेला अनुसन्धान इकाइका प्रमुख लामो विदामा बसेका थिए । जसकारण शाखा व्यवस्थापकले मलाई त्यो काम तिमीले गर्नुपर्ने भयो, सक्छौ ? भनेर सोधेका थिए । मैले त्यो दिनसम्म त्यस्तो कुनै काम पहिले नगरेको भए तापनि नयाँ काम गर्ने अवसर पाएकोमा उत्साहित हुँदै मैले सक्छु भनिदिएको थिएँ ।

त्यसपछि उनले तत्कालै सीमावर्ती क्षेत्रमा रहेको राष्ट्र बैंकका चारवटै काउन्टरहरूको भ्रमणमा गई तथ्याङ्क तथा त्यहाँका वस्तुस्थितिको अध्ययन प्रतिवेदन तयार गरी पेश गर्न अह्राएका थिए । अधिकृतस्तरबाट सम्पादन हुने उक्त काम गर्ने अवसर पाएकोमा हर्षित भएको म तुरुन्तै स्थलगत अध्ययनका लागि उक्त कार्यस्थलतिर लागेको थिएँ । चारवटै सटही काउन्टरहरूमा गई सटही कारोबारहरूको तथ्याङ्क तथा काउन्टरका कर्मचारीहरू, स्थानीय व्यापारी तथा सर्वसाधारणहरूबाट त्यस क्षेत्रमा भारतीय रूपैयाँ कारोबारको स्थिति अध्ययन गरी तीन दिनपछि वीरगन्ज फर्कें र बेलुकी अबेरसम्म बसी प्रतिवेदन तयार गरँे । भोलिपल्ट बिहान १० बजे व्यवस्थापकलाई हस्तलिखित प्रतिवेदन बुझाएको थिएँ । प्रतिवेदन बुझाएको एक घण्टापछि नै व्यवस्थापकले बोलाएर खुसी हुँदै, धेरै राम्रो प्रतिवेदन तयार गर्न सफल भएकोमा धन्यवाद दिएका थिए ।

त्यो दिन साँच्चै नै म आफूलाई सुम्पिएको उक्त काम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा निकै खुशी र उत्साहित भएको थिएँ । लगत्तै केही हप्तापछि नै नेपाल राष्ट्र बैंकका गभर्नर वीरगन्ज शाखाको भ्रमणमा आएका थिए । उक्त समयमा व्यवस्थापकले गभर्नर समक्ष मेरो कामको प्रशंसा गरेका रहेछन् । त्यसको केही महिनाभित्र निस्केको बढुवाको लिस्टमा म पनि परेको देख्दा म मनैदेखि रमाएको थिएँ । कुनै निश्चित सपना र गन्तव्यहरूको मानचित्रविना नै अगाडि बढिरहेको मेरो जीवनयात्राको यो मोडमा मैले सपनाविना नै यात्राहरूमा रुमल्लिरहनुपरेको अवस्थालाई नजिकबाट नियाँलेको थिएँ । जीवनमा सपना र उक्त सपना प्राप्त गर्नका लागि कोरिने मानचित्रको महŒव कति हुँदो रहेछ, भनी राम्ररी अनुभव गरेको थिएँ । मैले बुझेँ सपनाको महŒव
र मैले अझ महसुस गरेको थिएँ, सपना प्राप्तिका लागि आफ्नो शिक्षा, सीप र अध्ययनलाई परिमार्जन गर्दै आफ्नो जिम्मेवारीलाई सँगै लगनशीलता र मेहनतका साथ पूरा गर्दै जानुपर्ने यथार्थतालाई । यदि हामीमा आफूले देखेको र कोरेको सपनालाई हासिल गर्ने आँट र अठोट छ भने एक दिन हामी अवश्य नै सफल हुन सक्दछौँ ।

सपनाविनाको जीवनयात्रामा अगाडि बढ्दै गर्दा एकपछि अर्को बाटोहरू त छिचोल्दै गइन्छ तर कुनै गन्तव्यमा भने पुगिँदैन भन्ने कुरा बल्ल मलाई थाहा भएको थियो । हामी पछाडिको जिन्दगीमा फर्केर विगतलाई सच्याउन सक्तैनौँ तर पहिलेको कमी कमजोरीबाट पाठ सिक्दै भविष्यलाई सुनौलो बनाउन, एउटा निश्चित सपना वा लक्ष्य तोकी त्यो सपनालाई हासिल गर्न कडा मेहनत पनि गर्दै जानुपर्ने रहेछ । हामी सबैले जानी नजानी गल्तीहरू गरिरहेका हुन्छौँ । गल्तीको सुधार गर्दै अगाडि बढिरहनु नै सफलताको मूलमन्त्र हो । भनिन्छ नि– भूतकालका अनुभवहरूबाट भविष्यको गोरेटो वर्तमानमा तय गर्नुपर्दछ । मानिसको ज्ञान सधैँ अधुरो हुन्छ । नयाँ ज्ञान हासिल गर्दै मानिसको जीवनयात्रा अगाडि बढ्न सकेन भने ऊ पछाडि धकेलिँदै जान्छ । जसकारण जीवनयात्रामा कोही पछाडि कोही अगाडि पर्ने गर्दछन् । जीवनयात्रामा अगाडि बढिरहँदा आफ्नो ज्ञान र सीपलाई सँगै परिमार्जन पनि गर्दै लैजानुपर्ने हुन्छ । त्यसै अवधिमा त्रिभुवन विश्वविद्यालयबाट मानविकीतर्फ प्राइभेट परीक्षार्थीको रूपमा स्नातक उत्तीर्ण गरेको थिएँ ।
(अधिकारीको बैकिङ क्षेत्रमा बढेका पाइलाहरु किताबबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button