हेटौँडा, मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा पुनः सागर तिमल्सिना चयन भएका छन् । आज भएको मञ्चको चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।
मञ्चको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा सुबास सजल, कोषाध्यक्षमा मिथिला अधिकारी, सहसचिवमा अजर फुँयाल, सहसचिवमा नवीन दर्लामी चयन भएका छन् । यसैगरी सदस्यमा कमल नेपाल, प्रविना प्रयासी, मन्दिरा देवकोटा, विविशा रुम्बा र भावना न्यौपाने चयन भएका छन् ।
मञ्चले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । मुक्तक मञ्च मकवानपुरले भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’, काठमाडौंका सुनिल अधिकारी ‘तारा स्मृति मुक्तक सम्मान’, काठमाडौकै मदन नेपाल ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’, मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनका आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ प्रदान गरिएको थियो । ३१ औँ नियमित मुक्तक वाचनमा विभिन्न साहित्यकार तथा सर्जकहरूले आआफ्नो रचना वाचन गरेका थिए । नेपाली मुक्तक संरचना, परम्परा र प्रवृत्ति सम्बन्धि विमर्श कार्यक्रममा सानु खनालले सहजीकरण गर्नुभएको थियो भने डा.मुरारि पराजुली, डा.विश्वनाथ सञ्जेल र सुनिल अधिकारी वक्ताको रुपमा रहनु भएको थियो ।






