उपमहानगरलाई सबैको साझा बनाउनेछौं ः राजेश बानियाँ

–गठबन्धनको तर्फबाट उपमेरको उम्मेदवार हुनुहुन्छ, अवस्था के छ ?

हामीले सबै वडाको घरदैलो करिब सक्काइसक्यौं । गठबन्धनको पक्षमा जनता धेरै उत्साहित देखिएको छ । जनताले ३० वर्षदेखि एउटै नेतृत्व रहँदा पनि विकास हुन नसकेकोले नेतृत्व परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । घरदैलोमा उत्साहपूर्ण ढंगले जनता गठबन्धनको पक्षमा देखिएको छ । गठबन्धनको जित सुनिश्चित छ ।

–गठबन्धनलाई उम्मेदवार टुंगो लगाउनै पनि हम्मेहम्मे प¥यो, कांग्रेसबाट आकांक्षी धेरै थिए । प्रायः नेताहरु चुपचाप देखिएका छन् नि ?

कांग्रेस जस्तो ठूलो र लोकतान्त्रिक पार्टीमा टिकटको आकांक्षी धेरै हुनु स्वभाविक हो । यसअघिको स्थानीय निर्वाचनमा थोरै भोटले हारेकोले यसपटक कांग्रेसले नै प्रमुख पद पाउनुपर्छ भन्ने माग जायज पनि थियो । गठबन्धन हुँदा हामीले उपमेयर पाउने भएको र टिकट केन्द्रीय स्तरबाटै टुंगिने भएकोले केही ढिलाई भएकै हो । तर ढिलो गरेको निर्णय मजबुत निर्णय बनेको छ । यसले खासै समस्या देखिएको छैन । टिकट पाउँदा धेरै कुराहरु आए, नजिकको मान्छे, आफ्नो मान्छे, निकटको मान्छे भन्ने सवालहरु उठे । तर, जनमत भएको वा कम भएको बारे मूल्यांकन गरेरै टिकट दिएको छ । गठबन्धनबाटै टिकट टुंगाउनुपर्ने अवस्थामा पाँच पार्टीको सहमति हुनु र पाँचै पार्टी सहमतमा पुग्नुपर्ने भएकोले धेरै छलफलपछि मात्रै उम्मेदवार तय गरिएको छ । कांग्रेसको मात्र नभएर ५ वटै दलका प्रमुख प्रतिनिधिहरु चुनावी अभियानमा संगै हुनुहुन्छ । गठबन्धनलाई जिताउन लाग्नु भएको छ, कोही पनि चुप हुनुहुन्न ।

–नेकपा एसको जनमत काम भएको र त्यही पार्टीलाई मेयर पद दिएको भन्दै विवाद भएको थियो । कांग्रेसले गठबन्धनको पक्षमा मतदान गर्दैन भन्ने हल्ला पनि आइरहेको छ नि ?

नेपाली कांग्रेसको जनमत जाँच भइसकेको छ । भर्खर बनेको पार्टी नेकपा (एस) को जनमत र कार्यकर्ता कति छन् भन्ने यकीन नभएको कुरा सत्य हो । तर गठबन्धन के का लागि भन्ने हामी सबैले बुझेकै छौं । मुलुक र लोकतन्त्र जोगाउनका लागि गठबन्धन बनेको हो । जनमत छ छैन भन्ने सवाल नेतृत्वले उठाएको होइन र हामी उम्मेदवारले पनि भनेका छैनौं । यो प्रतिस्पर्धीले फैलाएको कुरा हो । अहिलेको गठबन्धन संविधान जोगाउन र ओली प्रवृत्ति हटाउन बनेको गठबन्धन हो । त्यसकारण यसमा जनमतको हिसाब गरेर गठबन्धन गरिएको होइन । गठबन्धनमा स्वतः जनमत छ । कांग्रेसले गठबन्धनको पक्षमा मतदान गर्छ र गठबन्धनलाई मजबुत बनाउन एकढिक्का छ भन्ने हामीले बुझेका छौं । र, गठबन्धनमा रहेका दलहरु माओवादी, जसपा र जनमोर्चा पनि गठबन्धनका उम्मेदवारलाई जिताउन एकढिक्का भएर लागेको छ । जित्ने कुरामा कुनै शंकै छैन ।

–तपाईंहरुले जित्नुभयो भने हेटौंडामा के कस्ता परिवर्तन हुन्छ ?

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । अधिकार उपमहानगरपालिकाको कार्यालयमा खुम्चिएको छ । अगाडिका नेतृत्वका कारण संविधानले दिएको अधिकार पनि खुम्चियो । वडाको अधिकार समेत खुम्चाइएको छ । हामी निर्वाचित भएपछि सर्वप्रथम साधारण कामको लागि जनता उपमहानगरपालिका धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । वडालाई दिइएको सबै अधिकार वडामै राखेर अघि बढ्छौं । यसो हुँदा जनताले भोग्ने समस्या आधा कम हुन्छ । हामी निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदको समानान्तर विकास हुनेछ । व्यक्ति कहिले पनि हावी हुने छैन । हामी सेवकका रुपमा रहनेछौं । पूर्वाधारको पाटोमा राष्ट्रिय गौरवका योजनाहरु हामी ल्याउँछौं । जनताबाट लिएको राजस्व स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद सबै क्षेत्रमा लगानी गरिन्छ । यी क्षेत्रहरुमा जनताको पहुँच बढाइन्छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको विकासका लागि योजनाबद्ध तरिकाले काम गरिनेछ ।

–प्रतिबद्धता पत्रमा समेटिएका केही बिषय अलि बढी महत्वाकांक्षी भएको जस्तो देखिन्छ । यो प्रचारका लागि मात्र गरियो भन्ने आरोप पनि छ नि ?

हामीले हेटौंडाको अवस्थालाई मध्यनजर गरेर, अध्ययन गरेर नै हाम्रो प्रतिबद्धतापत्र बनाएका हौं । योजना कार्यान्वयन नहुने सवाल नै छैन । जनतबाट निर्वाचित भइसकेपछि पार्टी, व्यक्ति, जात, धर्मको पक्ष विपक्षमा लाग्दैनौं । हामी जनताका लागि काम गर्छौंै र हामीले अघि बढाएका योजना, प्रतिबद्धताहरु केही फेरबदलहुन सक्लान् तर यो प्रचारबाजी गर्न अघि बढाएको होइन । यहाँ म शासक हुँ भन्ने प्रवृति िथयो । त्यसलाई हटाएर म जनताको सेवक हुँ भन्ने अवस्था सिर्जना गराउनेछौं । प्रतिबद्धतापत्रमा उल्लेख बुँदाहरु क्रमबद्ध रुपमा कार्यान्वयन गरिनेछ ।

–गठबन्धनको कारण मतदाताहरु मतदान गर्दा अन्यौल हुने अवस्था पनि छ नि ?

यसअघि २०७४ मा पनि नेपाली कांग्रेस र माओवादीको बीचमा गठबन्धन भएको थियो । त्यसबेला मत बदरकै कारणले मेयर उपमेयर दुवै गुमाएकै हो । त्यतिबेला अन्तिम अवस्थामा टिकट आएको र जनतामा गठबन्धन बुझाउन नसकेको र मत दिने तरिका सिकाउन नसकेको अवस्थामा धेरै मत बदर भयो । उम्मेदवारी नभएको पार्टीको पनि चुनाव चिन्ह भएकोले मत दिने बेला मतदाता झुक्किने गर्दछन् । त्यसकारण हामीले मतदाता शिक्षालाई यो पटक बढी जोड दिएका छौं । त्यसकारणले गर्दा यसपटक मत बदर हुने संख्या निकै कम हुन्छ । मत बदर हुन रोकरै हामी गठबन्धनले विजय हाँसिल गर्नेछौं ।

मेयरमा मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँलाई नै किन भोट दिनुपर्ने ?

हेटौंडाको विकास र परिवर्तनका लागि हामीलाई मत हाल्नुपर्ने हो । मैले पटकपटक भनेको छु, एउटै दलले ३० वर्षसम्म नेतृत्व लिनु भनेको परिवर्तनको खाँचो झल्किनु हो । एउटै अनुहार कहिले सांसद त कहिले मेयरमा उठेका छन् । जनतालाई परिवर्तनको खाँचो छ । नेतृत्व सँगै योजना पनि परिवर्तन हुन जरुरी छ । प्रतिस्पर्धीले बनाएको उम्मेदवारको अनुहार र गठबन्धनको उम्मेदवार हेर्दा नै प्रष्ट हुन्छ कि हाम्रो जित किन आवश्यक छ ? एक पटक हामीलाई मौकादिनुस्, हामी परिवर्तन र विकासलाई सँगसँगै अघि बढाउने छौं ।

हेटौंडाबासीलाई के अनुरोध गर्न चाहनुहुन्छ ?

म हेटौंडाबासीलाई यति मात्र अनुरोध गर्न चाहन्छु कि मैले ५ नम्बर वडा अध्यक्ष हुँदा गरेको कामहरु एकपटक हेरिदिनुहोस् । मैले वडा अध्यक्ष भएवापत राज्यबाट पाउने सेवा सुविधा सबै शिक्षा, स्वास्थ्य र विकास निर्माणको काममा लगाएको छु । उपमेयर भएर उपमहानगरपालिकाको सबै क्षेत्रको सर्वाङ्गीण विकासमा लागिपर्नेछु । उपमेयर मीनाकुमारी लामाले पनि सबैको साझा भएर काम गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाको विकासका लागि हामी दुवैजनाले जित्नु आवश्यक छ । त्यसकारण यो निर्वाचनमा उपमहानगरबासीले मेयरमा कलम चिन्हमा र उपमेयरमा रुख चिन्हमा मतदान गरी हामीलाई विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं । हामी बोलेर होइन गरेर देखाउनेछौं । हाम्रो लागि राजनीति सेवा हो । एकपटक सेवा गर्ने मौका दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button