हेटौंडा, मकवानपुरका कविहरुले सडकमा कविता वाचन गरेर भ्रष्टाचारविरुद्ध सचेतना कार्यक्रम जारी रहेको छ ।आइतबारबाट सुरु भएको कविता वाचन कार्यक्रम सोमबार हेटौंडा ४ को शितल महल चोकमा पनि मकवानपुरे साहित्यकारले कविता, गजल, प्यारोडी गीत वाचन गरेका थिए ।
भ्रष्टाचारविरुद्ध नागरिक सचेतनाका लागि सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा सोमबार हेटौंडा ४ को शितल महल चोकमा कार्यक्रम भएको हो । सर्जक सञ्जाल मकवानपुरले एक सातासम्म दिन–दिनै चोक–चोकमा रचना वाचनको कार्यक्रम गर्ने जनाएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेश निखिलको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरे साहित्यकार देशमा व्याप्त भ्रष्टारचाविरुद्ध रचना वाचन गरेका थिए ।
दोस्रो दिनको भ्रष्टाचारविरुद्धको रचना वाचन कार्यक्रममा साहित्यकार पुरुषोत्तम आचार्यले छन्द कविता ‘विडम्बना’, शम्भुप्रसाद बास्कोटाले ‘जाग जाग नेपाली गीत, हरि पौडेलले गजल, स्वस्तिका दाहालले प्यारोडी गीत, सुवास सजल, सम्प्रस पौडेललगायतका कविले कविता वाचन गरेका थिए । स्वतःस्फूर्तरुपमा साहित्यकारहरुलाई रचना वाचनका लागि आग्रह गर्दै संयोजक निमेष निखिलले नागरिक सचेत भएर भ्रष्टाचारविरुद्ध बोल्नुपर्ने बताए ।







