हेटौंडा, हेटौंडा १४ मा रहेको आदर्श शिक्षा निकेतन विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन थालेको छ । जीवनोपयोगी तथा व्यवहारिक सीप अन्तर्गत विद्यालयले विद्यार्थीलाई दुना टपरी बुन्न सिकाएको छ ।

कक्षा ३ देखि ५ सम्म अध्ययनरत ३६ जना विद्यार्थीहरू टपरी बुन्ने कार्यमा सरिक भएका थिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीहरूलाई टपरी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा भट्टराईले जानकारी दिए ।
‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित सालको पातबाट टपरी बनाउने तरिका सिकाएका हौँ । यसअघि विद्यार्थीहरुलाई बत्ती काट्न पनि सिकाएका थियौँ ।’ उनले भने, ‘नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
‘घोकन्ते शिक्षा केही समयका लागि मात्रै हुने र प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले विद्यार्थीलाई यसमा जोड दिँदै आएका छौँ,’ उनले भने, ‘हरेक हप्ताको शुक्रबार विद्यार्थीहरुलाई विभिन्न सीपमूलक शिक्षा प्रदान गर्ने छौँ।’ टपरी बुन्नमा कक्षागत शिक्षिका रुपा बस्नेत, यशोधा थपलिया, रन्जु ढुङ्गाना, कविता बलामीलगायत शिक्षिकाले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।
‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु ।’– विद्यालयकी एक छात्राले भनिन् । कक्षा नर्सरी देखि ५ सम्म अध्यापन हुने विद्यालयमा २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।







