आज हेटौंडा क्याम्पसमा प्राध्यापकहरुको धर्ना कार्यक्रम

हेटौंडा, आज हेटौंडा क्याम्पसका प्राध्यापकहरुले क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा धर्ना बस्ने भएका छन । गत जेठ १ गतेदेखिबाट हेटौंडा क्याम्पसका प्राध्यापकहरुले कालोपट्टी बाधेर विरोध प्रदर्शन गरिरहेका छन् । आज शुक्रबार विहान ८ः३० बजेबाट ८ः४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने कार्यक्रम रहेको पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पसका अध्यक्ष भूपेन्द्र कोइरालाले जानकारी दिए ।

हेटौंडा–क्याम्पसको वास्तविक अवस्थाबारेको श्वेतपत्र जारी गर्न गरिएको आग्रहलाई प्रशासनले सुनुवाई नगरेको भन्दै हेटौंडा क्याम्पसका प्राध्यापकहरु आन्दोलित भएका हुन् । गत वैशाख २६ गते क्याम्पस प्रमुखलाई श्वेतपत्र जारी गर्न पब्लिक क्याम्पस प्राध्यापक संघसहित अन्य दुइ वटा पेशागत संगठनले ज्ञापनपत्र बुझाएता पनि त्यसतर्फ आनाकानी गरिएको भन्दै गत जेठ १ गतेबाट प्रध्यापकहरुले आन्दोलनका कार्यक्रम थालेका हुन् ।

अनियमितताको आशंका गर्दै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले हेटौंडा क्याम्पस हेटौंडाको पूर्णकालीन तथा आंशिक प्राध्यापकको भुक्तानी बाँकी रकम, विद्यार्थीबाट उठ्न बाँकी रकम, दाखिला गर्न बाँकी रहेको कर, सञ्चयकोष, उपदानलगायतको विवरण खुलाई श्वेतपत्र जारी गर्न माग गरेका थिए । जायज माग पूरा गर्ने दायित्व विपरीत श्वेतपत्र सार्वजनिक गर्ने माग नै त्रुटिपूर्ण रहेको व्याख्या गर्नतर्फ क्याम्पस प्रशासन लागेकाले आन्दोलनमा विद्यार्थीको पढाईमा बाधा नपुग्नेगरी शान्तिपूर्ण आन्दोलनमा गएको पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पसका अध्यक्ष भुपेन्द्र कोइरालाले बताए ।

उनका अनुसार हेटौंडा क्याम्पसका आंशिक प्राध्यापकले १० महिनादेखि तलबभत्ता पाएका छ्रैनन् भने पूर्णकालीनको पारिश्रमिक पनि तीन महिनादेखि रोकिएको छ । ‘अहिलेको विद्यार्थी संख्याका आधारमा त हामीलाई तलब भत्ता खानै त समस्या हुनु नपर्ने हो, अनावश्यक खर्च पो भो कि भनेर हामीले क्याम्पसको यथार्थ विवरण मागेका थियौं । त्यो विवरण दिन नचाहेपछि हामी आन्दोलित भएका हौं ।’ संघका अध्यक्ष कोइरालाले भने ।

यता क्याम्पसले चाँडै नै श्वेत पत्र जारी गरी प्राध्यापकको समस्यालाई सुनुवाई गर्ने क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिए । ‘क्याम्पसले हेटौंडा–१६ स्थित हटियामा जग्गा खरिद र भवन निर्माण, विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र ९क्यूएए सर्टिफिकेट० को प्रक्रियाको लागि खर्च भएकोले शिक्षकलाई दिनुपर्ने तलब अपुग भएको हो ।’–उनले भने ।प्राध्यापकहरुले जेठ १ गते र २ गते क्याम्पस समयावधिभित्र कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए, जेठ ३ गते क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरुको मोबाइल नम्बरमा ‘शिक्षक कर्मचारीको पारिश्रमिक नियमित निकासा गराइदिनुस्, क्याम्पसको वास्तविक आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्न लगाइदिनुस’ भन्ने सन्देश पठाएका छन् ।

जेठ ४ गतेदेखि संकाय एवं विभागीय जिम्मेवारी वहन नगर्ने, आन्तरिक परीक्षाका प्रश्नपत्र समयमै उपलब्ध गराउने तर माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने, जेठ ५ गतेदेखि ८ गतेसम्म दैनिक १५ मिनेटका दरले बिहान ८ः३० बजेदेखि ८ः४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने र जेठ ९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button