हेटौंडा, ७ साउन/हेटौंडा क्याम्पसको १४ औँ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । क्याम्पसले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित आय ८ करोड २३ लाख ८२ हजार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ ।

आव २०७८/०७९ को वास्तविक आय ४ करोड ८१ लाख ८५ हजार र व्ययतर्फ प्रशासनमा ४ करोड २० लाख ९७ हजार तथा पुजीँगततर्फ १६ लाख ४६ हजार रहेको उल्लेख छ । हेटौंडा क्याम्पसलाई मानवीय संसाधनको विकास गरी उच्च शिक्षाको क्षेत्रमा देशकै उत्कृष्ट सामूदायिक शैक्षिक संस्थाको रुपमा विकास गर्दै लगिने अध्यक्ष सिग्देलले बताइन् । ‘क्याम्पसको आफ्नै नाममा हेटौंडा १६ मा २ कठ्ठा जग्गा रहेको छ ।’ उनले भनिन् –‘१६ नम्वर वडामा रहेको जग्गामा भवन निर्माणको लागि ‘यूजिसि’बाट ७५ लाख रकम विनियोजन भइसकेको छ।’ त्रिभुवन विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाण पत्र प्राप्त गर्नको लागि ‘एसएसआर’ स्वीकृत भई ‘युजिसि’को ‘पियर रिभउ टिम’ ले क्याम्पसको अवलोभन भ्रमण गरी प्रतिवेदन पेश गरिसकेकोले गर्दा चालु आर्थिक वर्ष २०७९÷८० मा उक्त क्यूएए प्राप्तीको प्रक्रियालाई सिघ्र रुपमा अघि बढाइने उनले बताइन् ।
कार्यक्रममा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसको वित्तिय अवस्थामा सुधार गर्दै विद्याथीहरुमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकुल सक्षम जनशक्तिको उत्पादन गर्ने बताए । ‘सामूदायिक क्याम्पस सबैको क्याम्पस हो ।’ पराजुलीले भने –‘क्याम्पसको भौतिक संरचना निर्माणको लागि अग्रजहरुले गर्नुभएको काममा हामीले इट्टा थप्ने गरेका हौँ ।’ हेटौंडा १६ नम्वर वडामा निर्माण हुन लागेको भवनको लागि युजिसिबाट अनुदानबाट ७५ लाख रकम विनियोजन भइसकेको र आगामी आर्थिक वर्षमा डेढ करोड विनियोजन हुने उनको दाबी रहेको छ ।
हेटौंडा क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धरले गतवर्ष स्नातकोत्तर तहमा ८५ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल भएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नेकपा एमालका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा उपमहानगरपालिका मेयर मिना लामालगायतको आतिथ्यता रहेको थियो । हेटौंडा क्याम्पसमा शिक्षाशास्त्र संकायमा वि.एड तथा एमएड, व्यवस्थापन संकायमा विविएस र मानविकी तथा समाजशास्त्र संकाय अन्र्तगत विएका विषय सञ्चालन भइरहेको छ ।






