हेटौंडामा भएको प्रथम हेटौंडा स्काउट क्याम्प–२०८० मा श्रीकृष्ण आदर्श स्काउट ट्रुप नृत्य प्रतियोगितामामा प्रथम भएको छ । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा भएको प्रतियोगितामा नवोदय स्काउट ट्रुप द्वितीय, बालजागृति स्काउट ट्रुप तृतीय र महेन्द्र स्काउट ट्रप सान्त्वना हुन सफल भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको कार्यक्रम संयोजक दिपेन्द्र रोक्काले जानकारी दिए ।
निबन्ध लेखन प्रतियोगितामा बालजागृती स्काउट ट्रुपका स्काउट देविना सन्जेल प्रथम, महेन्द्र स्काउटका दिया मैनाली द्वितीय, भुटनदेवी स्काउटका उषा थापा तृतीय र श्रमिक स्काउटका प्रगति माली सान्त्वना हुन सफल भएका थिए । क्याम्प गतिविधि प्रतियोगितामा बालजागृती स्काउट ट्रुप प्रथम, नवोदय स्काउट ट्रुप द्वितीय, कृष्ण आदर्श स्काउट ट्रुप तृतीय र बुद्ध स्काउट ट्रुपलाई सान्त्वना घोषणा गरिएको थियो ।
स्काउट क्याम्पमा १३ वटा स्थानीय विधालयका स्काउट ट्रुपहरु ४५० जना, रोभर रेन्जरहरु ५० जना र नगर समितिका सदस्य तथा शिक्षकहरु ५० जना गरि कुल ५५० जनाको सहभागीता रहेको थियो । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा क्याम्प समापन गरिएको थियो । जेष्ठ २६ गते बाट सुरु भएको क्याम्पको समापन आज गरिएको थियो ।







