बागमती प्रदेश सभामा आर्थिक सर्वेक्षणको प्रस्ताव पेश

हेटौंडा, बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा आर्थिक सर्वेक्षण २०७९/०८० को प्रस्ताव पेश भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ) ले उक्त आर्थिक सर्वेक्षणको प्रस्ताव पेश गरेका हुन् ।बागमती प्रदेश सरकारको आय र व्ययको अवस्था वृद्धि हुँदै गएको जनाइएको छ । सरकारले बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै आय र व्ययको अवस्थामा तुलनात्मक रुपमा वृद्धि भएको जनाएको हो ।

सर्वेक्षण अनुसार बागमती प्रदेशका आर्थिक परिसूचकहरुमा केही प्रतिकूल रहे पनि सामाजिक सूचकहरुमा क्रमशः सुधार आएको जनाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा प्रदेश सरकार स्थापनाको ५ वर्षमा आम्दानी र खर्च बर्सेनि बढ्दो अवस्थामा रहेको उल्लेख छ । सुरुवाती वर्षहरुको तुलनामा क्रमिक रुपमा प्रदेश सरकारको आम्दानी र खर्चको दायरामा वृद्धि भइरहेको मन्त्री लामाको भनाइ छ ।

आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो वर्षको तुलनामा आय ४३।१३ प्रतिशतले वृद्धि भएको थियो भने खर्च ३५।३५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो वर्षको तुलनामा आय २७।०८ र खर्च २७।३६ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७८/०७९ मा आय १८।०७ प्रतिशत र खर्च ६।७३ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान बापत प्राप्त १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेटबाट काम सुरु गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९र०८० को बजेटको आकारमा २२।८९ प्रतिशतले वृद्धि गरेको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले ७० अर्व ९३ करोडको बजेट तर्जुमा गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ का लागि ३५ अर्ब ६१ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ का लागि ४७ अर्ब ६० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा २६।४० प्रतिशत बजेट खर्च गरेको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ५७।९९ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा ५८।७१ प्रतिशत, आर्थिक वर्ष २०७७/०७८ मा ६९।२२ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा ६५।८३ प्रतिशत र चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १७ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ । सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन २ हजार ४५५ अमेरिकी डलर रहने र प्रदेशको उत्पादन वृद्धिदर १।८ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको संख्या ६ हजार १२६ छ भने सोही अवधिमा ४ हजार ६५८ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । जसअनुसार प्रदेशमा विदेशी लगानी स्वीकृत भएकामध्ये ८१ प्रतिशत उद्योग सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन मूल्य ३६।८० प्रतिशत अर्थात् ९१९ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । उक्त अंश अन्य प्रदेशहरुको तुलनामा सबैभन्दा बढी हुन आउँछ । जसमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाईकल मर्मत सेवाको योगदान ४ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ, घर जग्गा कारोबार सेवाको योगदान २ खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ, वित्तीय तथा बीमा क्रियाकलापहरुको योगदान १ खर्ब ७६ अर्ब करोड रुपैयाँ र उत्पादनमूलक उद्योगको योगदान ८९ अर्ब २९ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७।४ प्रतिशत, कृषि क्षेत्रको योगदान ११।२ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११।४ प्रतिशत रहेको भने प्रदेशको वृद्धिदर १।८ प्रतिशत कायम हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको २०७९/८० को फागुन मसान्तसम्म प्रदेशमा १६ हजार ४८० किलोमिटर सडक निर्माण भएका छन् । बागमती प्रदेशमा १ हजार १ सय ४९ मेगावाट विद्युत उत्पादन भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रदेशमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५३ हजार ९५६ नयाँ सवारी साधन दर्ता भएका छन् । प्रदेशमा कुल १५ वटा निकाय अन्तर्गतका १८४ वटा कार्यालय छन् भने सो कार्यालयका लागि ४ हजार १ सय १९ कर्मचारीको स्वीकृत दरबन्दी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button