हेटौंडा, १५ साउन/विगत १८ बर्षदेखि मकवानपुरमा सौन्दर्य क्षेत्रमा काम गरिरहेको आकर्षण ब्यूटीपार्लरले मानवसेवा आश्रम संस्थालाई भोजन सहयोग गरेको छ । पार्लरको बार्षिकोत्सवको अवसरमा विविध कारणले सडक जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको आश्रमलाई एक छाकको भोजन सेवाको लागि नगद सहयोग गरेको हो ।

२०६२ सालमा स्थापना भएको आकर्षण ब्यूटीपार्लरले बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रमलाई भोजन सेवाको लागि १५ हजार नगद सहयोग गरिएको पार्लरकी सञ्चालक गमला राजभण्डारी (अस्मिता) ले जानकारी दिइन् । आश्रममा रहेकाहरुलाई हरियो चुरा, मेहेन्दी पनि लगाइएको थियो । ‘हामीले बार्षिकोत्सवको सन्दर्भमा प्रत्येक बर्ष विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका छौं । त्यसैको निरन्तरताको क्रममा यस बर्ष मानवसेवा आश्रमलाई सहयोग गरेका हौं’, सञ्चालक राजभण्डारीले भनिन्, ‘आगामी बर्षहरुमा पनि सहयोग अभियानलाई निरन्तरता दिँदै जानेछौं ।’
समयको माग अनुसारको सौन्दर्य सेवा प्रदान गर्दै जाने उनले बताइन् । आकर्षण ब्यूटीपार्लरले हालसम्म ५ हजार जना भन्दा बढीलाई पार्लर सम्बन्धि तालिम दिइसकेको छ । पार्लरमा अहिले दैनिक २० जना भन्दा बढी सेवाग्राही आउने गरेको बताइएको छ । पार्लरले मिस एसएलसी क्वीन, मिस कलेज, मिसेज तीज, मिसेज मकवानपुर लगायतको विविध कार्यक्रमको आयोजना र सहकार्य समेत गर्दै आएको छ ।







