हेटौंडा, बागमती प्रदेश सरकारका मन्त्रीहरुले प्रतिपक्ष दलहरुसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८÷०८१ को विनियोजन विद्येयक माथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने उनीहरुले बताएका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको विनियोजन विद्येयक २०८० माथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्रीहरुले योजनाको तर्जुमा र छनौट गर्दा राजनीतिक पूर्वाग्रह नराखिएको बताए । सरकारले प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्दै लैजाने र दलगत स्वार्थभन्दा माथि उठेर पक्ष र विपक्षमा कुनै पनि विभेद नगरिने भन्दै सबैलाई समेटर अघि बढ्ने उनीहरुको भनाई छ । उनीहरुले आर्थिक स्रोधसाधनले उच्चतम प्रयोग गरी विभिन्न योजना तथा प्रदेशको गौरवको आयोजनाहरु कार्यान्वयनमा लागि बजेट विनियोजन गरिएको बताए । उनीहरुले खानेपानी, सिचाईँ, सडक पुल पूर्वाधार, पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।
कृषि उत्पादन, रसायनिक मलको सहज उपलब्धता, प्राङ्गारिक मलको प्रयोग तथा उत्पादन, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा लगायतका क्षेत्रको विकास एवम् विस्तारका लागि सरकारले प्राथमिकताका साथ योजनाहरु ल्याएर बजेट तर्जुमा गरेको उनीहरुले बताए । आगामी आर्थिक वर्षको लागि तर्जुमा गरिएको योजनालाई सम्बन्धित स्थानीय निकायसंग समन्वय
गरेर अगाडि बढ्ने उनीहरुको भनाई छ ।
सरकारी जग्गाको संरक्षण, पर्यटन क्षेत्रको विस्तार, उत्पादनशीलता वृद्धि, वैकल्पिक सडकमार्ग निर्माण र मर्मत सम्हारका लागि सरकारले बजेट विनियोजन गरेको उनीहरुले बताए । विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर बाढी–पहिरोबाट प्रभावित क्षेत्रलाई संरक्षण गर्दै दीर्घकालिन योजनाहरु कार्यान्वयन गर्ने उनीहरुले बताए ।
बुधबारको बैठकमा उक्त भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।






