हेटौंडा, उचित क्षतिपूर्तीसहित सडक विस्तार गर्नुपर्ने माग राख्दै मकवानपुर उद्योग वाणिज्य संघले अघोषित आन्दोलन सुरु गरेको छ । सोही क्रममा आइतबार डिभिजन सडक कार्यालय हेटौंडा अगाडी नाराबाजीसहित धर्ना दिनुका साथै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
हेटौंडा बसोबास संरक्षण समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अगुवाईमा जम्मा भएका व्यवसायी तथा घरधनीहरुले डिभिजन सडक र हेटौंडा उपमहानगरपालिका विरुद्ध नाराबाजी गर्दै उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न माग गरेको हो । सर्वोच्चको फैसलामा समेत पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख रहेको बताउँदै गुप्ताले सर्वोच्चको फैसलालाई समेत बेवास्ता गर्दै पुरानै सूचना निकालिएको जानकारी दिए ।
‘हामी सडक विस्तारको विरुद्धमा होइनौं । हामी विकास विरोधी पनि होइनौं’, उनले भने, ‘तर सडक विस्तारको नाममा यहाँका घरधनीलाई सुकुम्बासी र व्यवसायीलाई बिचल्ली बनाउन पाइँदैन ।’ बसोबास संरक्षण उपसमितिका संयोजक रामहरि न्यौपानेले व्यक्तिको नाममा लालपूर्जा र किनबेच भएको, कर तिर्दै आएको घरजग्गा कसरी सडकको भयो भन्दै प्रश्न गरे ।
‘हामी अतिक्रमण गरेर बसेका होइनौं । यो हाम्रो घरजग्गा हो’, उनले भने, ‘उचित निकाससहित मुआब्जा दिएर सडक विस्तार गरियोस् ।’सडक डिभिजन कार्यालयले ३५ दिने सूचना जारी गरेसँगै सडक विस्तारको विषयले पुनः चर्चा पाएको छ ।






