हेटौंडा/मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपा नेपालले मकवानपुरको क्षेत्र नम्बर २ बाट पार्टीका महामन्त्री राजाराम बर्तौलाको एकल नाम सिफारिस गरेको छ ।

राप्रपा नेपालको जिल्ला कार्य समिति बैठकले मकवानपुर २ मा बर्तौलाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । राप्रपा नेपाल पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका इमान्दार अनि नयाँ पुस्ताको समेत प्रतिनिधित्व हुने गरी जुझारु नेता बर्तौलालाई सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष सापकोटाले बताए । राप्रपा नेपालले यसअघि मकवानपुरको क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरिसकेको छ । साथै बैठकले प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारको नाम समेत सिफारिस गरेको छ ।
मकवानपुर १ को ‘क’ बाट राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारी, ‘ख’ बाट दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ, अर्जुन ढुङ्गानाको नाम सिफारिस गर्दा २ को ‘क’ बाट राधाकृष्ण बिष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा तथा ‘ख’ बाट बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाईँको नाम सिफारिस भएको छ । समानुपातिक तर्फका उम्मेदवारको नाम आज बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने अध्यक्ष सापकोटाले बताए ।







