हेटौंडा, भोली आइतबार छठ पर्वको मुख्यदिन अस्ताउँदो सूर्यको पुजा गरी मनाइँदैछ । हेटौंडामा पनि छठ पर्वका रौनक छाएको छ । हेटौंडा–१ राप्तीतटमा यो वर्ष पनि छठ पर्व मनाउन हेटौंडाको राप्ती नदी किनारमा पण्डाल निर्माण गरिएको छ । छठ पुजा आयोजक संयुक्त मधेसी सेवा समाज नेपालका कार्यबाहक अध्यक्ष रवि रञ्जन गुप्ताले आइतबार राप्ती खोलामा करिव ६० हजार भन्दा बढीले छठको अवलोकन गर्ने बताए ।

आइतबार विहान १० बजेसम्म छठ पर्वको सम्पूर्ण तयारी पूरा हुने उनले जानकारी दिए । छठ पूजाको लागि बाटो सिङ्गार्नेलगायतका कार्य बाँकी रहेको उनले बताए । प्रत्येक वर्ष छठको अवसरमा हेटौंडाको राप्तीतटमा सरसफाई गरी छठ पर्व मनाइन्छ ।
नदी किनारमा पण्डाल र मनोरञ्जनका विभिन्न स्टलहरु राख्ने व्यवस्था मिलाइएको छ । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुने पर्व छठ पर्वको तयारी गरिएको हो । संयुक्त मधेसी सेवा समाजको मुख्य आयोजनामा हेटौंडाको राप्ती नदी किनारमा भक्तजनहरुको सुविधाका लागि टेन्ट हालेर स्टलहरु निर्माण गरिएको हो ।
छठ पर्वलाई भव्य रुपमा मनाउन हेटौंडा उपमहानगरपालिका–१ राप्ती तटमा ६०० फिट लामो पण्डाल बनाइएको उनले बताए । विशेषतः तराईका जिल्लामा मनाइने यस पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाउने गरिएको छ । मिथिलाञ्चल क्षेत्रमा विशेष रूपमा मनाइने छठ केही वर्षयता हेटौंडामा पनि विशेष महत्वका साथ मनाउने गरिएको छ ।






